गोरखामा गाँजा तानिरहेका १७ जना एकै दिन पक्राउ

 बैशाख ३१, २०८० आइतबार १५:१५:५३ | किरण लोहनी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गाेरखा – गोरखामा किशोरकिशोरीहरू गाँजालगायतका लागुऔषधको लतमा फस्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको 'स्टिङ अपरेशन' का क्रममा गाँजा तानिरहेकाे अवस्थामा एकै दिन १७ जनालाई पक्राउ गरेकाे हाे । 

यही वैशाख २९ गते शुक्रवार जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताउनुभयो । सिरानचोक गाउँपालिकाको नयाँसाँघुबाट नाै जना, गोरखा नगरपालिकाको बतासे र रानीवन क्षेत्रबाट सात जना तथा पालुङटार नगरपालिकाको ठाँटीपोखरीबाट एक जना पक्राउ परेका हुन् ।

किशोरकिशोरीहरू लागुऔषधको कुलतमा फस्दै गएको गुनासो आउन थालेपछि सम्भावित ठाउँहरूमा सादा पोसाकमा प्रहरी खटाएर उनीहरूलाई पक्राउ गरेकाे डीएसपी लामिछानेको भनाइ छ । ‘पक्राउ परेका धेरैजसो १५/१६ वर्षका विद्यार्थीहरू छन्’ उहाँले भन्नुभयो, ‘मुद्दा चलाउने गरी ठूलो परिमाणमा गाँजा फेला नपरेको र कम उमेरका भएकाले उनीहरूलाई अभिभावकसँग छलफल गरी उनीहरूकै जिम्मामा छाडिएको हो ।’

पक्राउ गरेका धेरैजसाे विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरू रहेकाले लागुऔषधको शारीरिक, मानसिक हानी र कानुनी कारबाही लगायतका विषयमा विद्यालयमै पुगेर सचेतनामूलक कार्यक्रम गर्ने प्रहरीले जनाएको छ । गाँजा तान्ने, खुवाउने र ओसारपसार गर्ने/गराउनेलाई कानुनी कारबाहीसँगै सुधारको प्रयास पनि सँगसँगै अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घरबाटै सुधारको प्रतिबद्धता आएकाले शनिवार अभिभावकहरूलाई बोलाएर छलफल गरी जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया