‘प्रहरी र अख्तियार सक्रिय हुने हो भने राजनीतिक ‘सेटिङ’ ले केही हुनेवाला छैन’

 जेठ १, २०८० सोमबार १४:१७:१९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले सडक र सदन तताएको छ । चिया पसलदेखि चोक, चौतारासम्म पनि यसै प्रकरणबारे चर्चा हुने गर्छ । यो प्रकरणलाई निष्पक्ष ढंगले छानबिन गरी टुंग्याउन चौतर्फी दबाब बढिरहेको छ ।

कुनै दबाब र प्रभावबिना यो प्रकरणलाई टुंग्याउन सकेमा विश्वसामु बिग्रिएको नेपालको छवि सुधार गर्न सकिने विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार विश्वसनियता गुमाइसकेका राजनीतिक दल र कर्मचारीलाई समेत अहिले सच्चिने अवसर आएको छ ।

प्रहरी र अख्तियार दह्रोसँग उभिएन भने यो मुद्दा फासफुस हुन्छ 


सूर्यनाथ उपाध्याय
पूर्व प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग 

सरकार भन्नाले प्रहरीलगायत सबै आउँछ त्यसकारण यो मुद्दामा उसले कारबाही अगाडि बढाएकै हो । पैसा खाइदिए भनेर उजुरी पर्‍यो त्यसपछि सरकारी संयन्त्र सक्रिय भयो । जसको पैसा खाइदिएका थिए, जो जान पाएनन् उनीहरुको उजुरीबाट यो प्रकरणको सुरुवात भएको हो । यो प्रकरणमा प्रहरी र अख्तियार सक्रिय हुने हो भने राजनीतिक ‘सेटिङ’ ले केही हुनेवाला छैन । तर, यदि यसमा प्रहरी पनि दरिलोसँग उभिएन र अख्तियार पनि दरिलोसँग उभिएन भने यो मुद्दा त्यत्तिकै फासफुस हुन्छ । यसमा खास गरेर अख्तियार अगाडि आउनुपर्छ जस्तो लाग्छ । प्रहरीभन्दा पनि बलियो भनेको अख्तियार हो । अख्तियारले मन्त्री, प्रधानमन्त्रीले भनेको नटेर्न सक्छ । अख्तियार धेरै बलियो छ र उसलाई अधिकार पनि धेरै छ ।

यसलाई अगाडि बढाउनुपर्‍यो भनेर अहिले नेताहरुमाथि पनि दबाब छ । यसमा कारबाही गर्ने संस्थाहरु कत्तिको दह्रो गरेर उभिन्छन् त्यसकै आधारमा यो मुद्दा कसरी अगाडि बढ्छ भनेर भन्न सकिन्छ । अन्यथा विगतमा जस्तै यो मुद्दा पनि त्यत्तिकै फासफुस पनि हुनसक्छ । नेताहरुले अख्तियार जस्ता संस्थालाई कमजोर बनाउन त खोज्छन् नै । अख्तियारले राम्रोसँग काम गर्छु, लाग्छु भन्यो भने कस्ले के गर्न सक्छ । अख्तियारले काम गर्छु भन्यो भने नेताहरुले रोकेर रोक्न सक्छन् र ?

त्यसैगरी प्रहरीले पनि आफू लागिपर्छु, गर्छु भन्यो भने कसैले रोक्न सक्दैन । प्रहरीलाई चुप लागभन्दा टेर्दिन भन्यो भने के गर्ने त्यसकारण कारबाही गर्छुभन्दा नसक्ने भन्ने होइन । अहिले सामाजिक सञ्जाल, नागरिक समाज आदिको पनि दबाब सरकारमाथि हुन्छ किनकि भोलि त भोट माग्न जानुपर्ने हुन्छ । 

भ्रष्टाचारविरुद्ध केही गर्ने हुटहुटी देखियो


भोजराज पोखरेल
पूर्व प्रमुख निर्वाचन आयुक्त तथा नागरिक अभियन्ता

यो मूलरुपमा भ्रष्टाचारजन्य केसबाट सुरुवात भयो । तर, यसको पछिल्लो पाटो उदाङ्गिदै जाँदा यो त्योभन्दा माथिको अपराधकोरुपमा देखियो । त्यसकारण यसलाई गिजलौँ भन्ने ढंगबाट मात्र उठान भएको जस्तो लाग्दैन । यसले जुन जटिलताहरु ल्याइरहेको छ त्यसले थप जटिलता पक्कै छन् । यसलाई शंका नगरौँ । असल नियतले नै आयो । भ्रष्टाचारकोविरुद्धमा केही गर्ने हुटहुटीबाट नै आयो भन्ने ठानौँ ।

अहिलेको केसमा हामीले दबाब, प्रभाव किन खोज्नुपर्‍यो । भ्रष्टाचारविरुद्धको कुरा जस्ले, जहाँबाट गर्न खोजे गरे पनि त्यो स्वागतयोग्य कुरा हो । स्रोतसँग हामीलाई के मतलब भयो र । सरकारका संस्थाहरुको विश्वसनीयता यसरी घटेको छ कि असल नियतले गरेको भए पनि यिनीहरुले आफूले के गरे होलान र, कसैले भनेर गरे होलान भन्ने लाग्छ किनकि त्यसमा विश्वसनीयता नभएर हो ।

एउटा नेपाली नागरिकको हैसियतमा अहिले भएको घटनामा राम्रो भयो, यसलाई जसरी हुन्छ पार लगाऊ भनेर बल दिनुपर्ने ठाउँमा कुन चाहिँ शक्ति लागेर गरेको हो, यिनीहरुले किन गर्थे भनेर कमजोर बनाउने बेला होइन । त्यसकारण यो कमजोर बनाउने बेला होइन र यदि कसैले गरेको छ भने पनि ठीकै गर्‍यो भन्नुपर्छ ।

भ्रष्टाचार हाम्रो शत्रु नै हो । शत्रु नाश गर्नलाई जसले गरेको पहल पनि स्वागतयोग्य हुन्छ । अहिले जुन अभियान सुरु भएको छ त्यसलाई एउटा तार्किक निष्कर्षमा पुर्‍याउनु पर्छ । एउटा सुरुङबाट पसियो। त्यो सुरुङबाट निकाल्नलाई सबैले बल दिनुपर्छ । यतिखेर हामीले कमजोर बनाउन नै खोज्नु हुँदैन ।

यो काण्डलाई ओझेलमा पारेर अर्को काण्ड ल्याउने काम नहोस्

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

यस्तो खालको भ्रष्टाचार विश्वमै पहिलो हुनसक्छ । यसमा जुन प्रकारको उच्चस्तरीय राजनीतिक तथा कर्मचारी तन्त्रको संलग्नता देखिएको छ त्यो कुनै पनि दबाब, प्रभावबाट प्रभावित नहोस् भन्ने हामी चाहन्छौँ । कुनै पनि बहानामा छानबिन नरोकियोस तथा शिथिल नहोस् भन्ने हाम्रो माग हो ।

प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने काम नहोस् र अपराधी जुनसुकै पद र तहको भए पनि तिनीहरुलाई हदैसम्मको कारबाही होस् भन्ने हामी चाहन्छौँ ।

हामीकहाँ जहिले पनि एउटा भ्रष्टाचारको काण्ड आउँछ अनि त्यसलाई ओझेलमा पारेर अर्को काण्ड ल्याउने गरिन्छ । अनि कतिपय केसमा अदालतमा मुद्दा दायर भए पनि कमभन्दा कम सजाय तोकिन्छ जस्तो कि सुडान प्रकरणमा भयो । यसमा त्यस्तो नहोस् ।

नेताहरुले नागरिकको विश्वास गुमाएको अवस्था

केदारभक्त माथेमा 
शिक्षाविद् तथा नागरिक अभियन्ता

शीर्ष नेताहरुले विगतको व्यवहारले धेरै कुरा गुमाइसक्नु भएको छ । उहाँहरुको बोली, व्यवहारलाई नागरिकले विश्वास गर्दैनन् । पटक पटक उहाँहरुबाट धोका पाएको हुनाले उहाँहरुलाई विश्वास गर्ने आधार पनि देखिँदैन । उहाँहरुकै कारणबाट यो अवस्था आएको हो । संस्थाहरु हेर्नुस् त कुन गति बनाउनु भएको छ उहाँहरुले । कुन गतिमा लग्नु भएको छ । यसका बारेमा नागरिकको तर्फबाट हामीले नभनेको होइन । पटक पटक भनेका छौँ । संस्था बिग्रियो भने देशलाई घात हुन्छ भनेर भन्दा पनि नमानेर आफ्नो मान्छे राख्नलाई, आफ्नो मान्छे च्याप्नलाई, आफ्नो मान्छे घुसाउनलाई जुन चलखेल भयो यसकारण उहाँहरुप्रति नागरिकको विश्वास छैन ।

उहाँहरुले धेरै कारणले विश्वास गुमाइसक्नु भयो । उहाँहरुले पनि आफ्नो समयमा धेरै योगदान पुर्‍याउनु भएकै हो । तर, केही वर्षयता उहाँहरुले विश्वसनीयता गुमाउनु भएको छ । अब उहाँहरुको विश्वसनीयता भनेको यसलाई सघाएर निष्कर्षमा पुर्‍याउनु हो । यदि सबैले सहयोग गरेर निष्कर्षमा पुर्‍याउनु भयो भने उहाँहरुको विश्वसनीयता बढ्छ । नत्र जनताको माझमा उहाँहरुको विश्वसनीयता सकिन्छ । चुनाव भनेको त यस्तै हो कसरी जितिन्छ थाहा छ तर, जनताको विश्वास पाउनु भनेको ठूलो कुरा हो ।

एक/दुई जना नेता पक्राउ पर्दैमा भ्रष्टाचार निवारण हुँदैन


प्रा.डा. ताराप्रसाद भुसाल 
सुशासनविद्

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा एक/दुई जना ठूला नेता तानिँदैमा देशमा भइरहेको भ्रष्टाचार निवारण हुने भयो, ठूला माछा पक्राउ पर्न थाले भन्ने निर्क्याैल निकाल्न गाह्रो छ । तर, जब समाजमा चेतनाको स्तर बढ्दै जान्छ अनि कानुनी राज्यले काम गर्ने मौका पाउँछ र यस्ता गतिविधि गर्ने जुनसुकै तहमा जोसुकै भए पनि समातिनु पर्छ र यदि तिनीहरु अपराधी हुन्छ र प्रमाणित हुन्छ भने कारबाही गर्नुपर्छ । समातिनु मात्रै ठूलो कुरा होइन, दोषी ठहर गरेर कारबाही भयो भने बल्ल हामी सही दिशातिर गयौँ भन्ने देखिन्छ ।

यो अहिले नै उत्साही हुनुपर्ने कुरा होइन । यो एउटा सानो घटना हो । घटनाहरु खोज्दै गयौँ भने योभन्दा ठूला अरु घटना हुनसक्छन् किनकि ती घटनाहरु बाहिर आएका पनि छैनन् र ल्याउन खोजिएको पनि छैन । ल्याउन खोज्यो भने यो भन्दा ठूला नीतिगत भ्रष्टाचारका अरु घटनाहरु पनि छन् । अपराधीलाई समाउन खोज्यो भने त्यस्ता जघन्य अपराध तथा भ्रष्टाचारका घटनामा संलग्नलाई कारबाही हुनसक्यो भने बल्ल यसलाई एउटा सुरुवात हो भन्न सकिन्छ । अरु कुन कुन घटनाका सम्बन्धमा कारबाही अगाडि बढाउने भन्नका लागि त्यसका लागि अनुसन्धान गर्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Vidya

    May 16, 2023, 7:13 a.m.

    नक्कली भुटानी शरणार्थी भएर युएसए जान खाेज्नु पनि अपराध नै हाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया