सडक स्तरोन्नतिकाे काम छिटो सक्न माग गर्दै गाेरखामा पूर्वमन्त्रीसहितको धर्ना

 जेठ ९, २०८० मंगलबार १९:४५:२३ | किरण लोहनी
unn.prixa.net

गाेरखा – मध्यपहाडी राजमार्गअन्तर्गत गोरखाको मसानेठाँटीदेखि ठाँटीपोखरीसम्मको सडक स्तरोन्नतिमा ढिलाइ भएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका उनीहरूले प्ले कार्डसहित धर्ना दिएका हुन् । धर्ना तथा छलफलमा पालुङटार नगरपालिका वडा नम्बर १, ४ र ५ का स्थानीयकाे सहभागिता रहेको थियो ।

सडक स्तरोन्नतिबारे उनीहरूले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालसँग पनि छलफल गरेका छन् । छलफलमा गण्डकी प्रदेशका पूर्वमन्त्री हरिशरण आचार्यले ठेक्काको म्याद पटक–पटक थपिए पनि अपेक्षाअनुसार काम हुन नसकेको बताउनुभयो । ठेकेदार र कामदारहरू निर्माणस्थलमा नदेखिएकाले कामले गति लिनेमा ढुक्क हुने अवस्था नरहेको उहाँले बताउनुभयो । त्यस क्रममा प्रमुख जिल्ला अधिकारी भुषालले सम्बन्धित आयोजना कार्यालय र निर्माण व्यवसायीसँग आउँदाे आइतवारसम्ममा छलफल गरी समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । 

मध्यपहाडी राजमार्गअन्तर्गत मसानेठाँटीदेखि ठाँटीपोखरीसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिका लागि हिमडुङ प्यासिफिक जेभीसँग २०७७ साल असार २६ गते ठेक्का सम्झौता भएको हो । सडक विस्तार र कालोपत्रका लागि ५५ करोड तीन लाख रुपैयाँमा गएकाे असार २५ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । तर कोरोना महामारीलगायतका कारण आउँदाे असार २५ गतेसम्म म्याद थप भएको छ । अहिलेसम्म याे सडक खण्ड स्तरोन्नतिको काम झन्डै ३० प्रतिशतमात्रै सकिएको छ । वन विवाद भएको बाहेक अन्य क्षेत्रमा ग्याबिन वाललगायत संरचनाको काम भइरहेको ठेकेदार कम्पनीका सन्दीप रेग्मीले बताउनुभयो । 

मध्यपहाडीको सडक नालासहित ११ मिटर फराकिलो हुनेछ । साढे सात मिटरमा कालोपत्र हुने उहाँले जानकारी दिनुभयो । राजमार्गअन्तर्गत मसानेठाँटी–ठाँटीपाखेरी खण्डकाे चार किलोमिटर क्षेत्रका रुख काट्ने काम सकिएको छ । वनसँगको विवादका कारण १२ वर्षदेखि याे सडक स्तरोन्नति रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयबाट सडक छेउछाउ रहेका आठ सय ३६ वटा रुख काट्न अनुमति पाएसँगै अहिले रुख काटिएकाे हो । काटिएका रुख हटाएलगत्तै सडक स्तरोन्नतिको काम थालिने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुनिल रञ्जितकारले बताउनुभयो । तर अहिलेसम्म याे क्षेत्रमा सडक चौडा बनाउने काम सुरु भएको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया