दुना टपरीमा आत्मनिर्भर बन्ने योजनामा छत्रकोट गाउँपालिका

 जेठ ३०, २०८० मंगलबार १८:५६:३६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले सञ्चालन गरेको लघु उद्यम कार्यक्रमबाट स्थानीय महिलाहरू निकै खुसी बनेका छन् । गाउँपालिकाले स्थानीय महिलाहरूलाई आयआर्जनमा सहयोग पुराउने उद्देश्यले लघु उद्यम तालिम दिएपछि उनीहरूमा थप आत्मबल बढेको हो । 

पालिकाले महिलाहरूलाई स्थानीयस्तरमै उपलब्ध स्राेत साधनबाट दुना टपरी, मुढा, खादालगायतका सामग्री उत्पादन गर्ने सीप सिकाएपछि पालिका यी सामग्रीमा आत्मनिर्भर बन्ने योजनामा छ । उत्पादित सामग्रीको प्रवर्धनका लागि आउँदा दिनमा छत्रकोटभित्र रहेका सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाले प्लास्टिकका दुना टपरीको प्रयोग नगर्ने भएका गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयाे ।

गाउँपालिकाले लघु उद्यम कार्यक्रमअन्तर्गत विभिन्न वडाका महिलाहरूलाई तालिम दिई उनीहरूबाट उत्पादित सामग्रीहरूलाई प्रवर्धन गर्न पहिले पालिका भित्रैबाट अभियान सुरु गर्ने प्रतिबद्धता गरेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । ‘अब कार्यालयमा प्लास्टिककाे सामग्रीलाई विस्थापित गरी यहाँ उत्पादित सामग्रीको प्रयोग गर्न सुरु गरेका छौँ, बिस्तारै पालिकाभित्र पूर्णरूपमा यो अभियान सञ्चालन गर्ने योजनामा छौँ’, प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नुभयो । 

छत्रकोट गाउँपालिकाले सालको पातबाट निर्मित दुना टपरी, बाँसबाट बनेको मुढा, ढाकाको खादालगायतका सामग्रीको व्यावसायिक उत्पादन गर्न थालेको छ । छत्रकोट–१ हुँगाका १२ जना महिलाले व्यावसायिकरूपमा दुना टपरी उत्पादन गर्न सुरु गरेका वडाध्यक्ष घनश्याम न्यौपानेले बताउनुभयो । काम गर्ने जोस र जाँगर भएमा कोही पनि पछाडि पर्नु नपर्ने भन्दै उहाँले हुँगामा टपरी खुट्ने (बनाउने) मेशिनको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो । 

पालिकाले महिलाहरूले उत्पादन गरेको सालको पातको थालीलाई एक सय थानलाई तीन सय, साना दुनाकाे प्रति गाेटा एक, र बाेहाेताकाे प्रति गाेटा एक रुपैयाँ पचास पैसा निर्धारण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया