वार्षिक एक सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने दुई सय ४० म्यानपावर खारेजीको जोखिममा

 असार ५, २०८० मंगलबार १५:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्यूनतम एक सय जना श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने दुई सय ४० म्यानपावर  कम्पनी खारेजीको जोखिममा परेका छन् ।

नवीकरणका लागि वार्षिक रूपमा एक सय कामदार वैदेशिक रोजगारी पठाउन पर्ने भए पनि जेठ मसान्तसम्म दुई सय ४० म्यानपावर कम्पनीले यो सङ्ख्या पुर्‍याउन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउन वैदेशिक रोजगार विभागमा करिब दुई सय ९० म्यानपावर कम्पनी दर्ता रहेका छन् । उनीहरू मध्ये जेठ मसान्तसम्म दुई सय ४० ले न्यूनतम एक सय कामदार पठाउन नसके पनि असार अन्तिमसम्म यो सङ्ख्या केही घट्न सक्ने अनुमान गरिएको सङ्घका अध्यक्ष भण्डारी बताउनुहुन्छ । 

वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका म्यानपावर कम्पनीहरूले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र इजाजत नवीकरण गराउनु पर्छ ।

यही प्रावधान अनुसार २०८० असार मसान्तभित्र अनलाइनमार्फत नै नवीकरण हुन विभागले सूचना जारी गरेको छ ।  जसअनुसार इजाजत नवीकरणका लागि विभिन्न कागजातसँगै आर्थिक वर्ष २०७९/०८० मा कम्तीमा एक सय जना कामदार पठाएको प्रमाण पनि विभागमा पेस गर्नुपर्छ । 

नवीकरणको पहलमा सङ्घ

एक सय कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीहरूको नवीकरणका लागि सङ्घले पहल थालिसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । 

बाधा अड्काउ फुकाउ आदेशमार्फत अघिल्ला वर्षहरूमा पनि सरकारले म्यानपावर कम्पनीहरूको खारेजी बचाएको थियो । 

‘हामीले मन्त्रालयमा सचिवज्यूसँग पनि यो कुरा राखेका छौँ, यो कानुनी  अड्चनलाई सधैँका लागि फुकाउन केही नेपाल ऐन संशोधनमार्फत अघि बढेको भए पनि अहिले संसद्मै यो कुरा अड्किएको छ’ सङ्घका अध्यक्ष भण्डारी भन्नुहुन्छ ‘तर मन्त्रीज्यू समक्ष यो कुरा राखेर भए पनि नवीकरण गराउन हामी लागि परेका छौँ ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया