वीरको निःशुल्क शय्या : बिरामी नै अनभिज्ञ !

 असार ११, २०८० सोमबार ११:५२:१३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

डोटीका लोकराज जोशी वीर अस्पतालको मेडिकल वार्डमा बिरामी कुरेर बसिरहनु भएको छ । हेमोफेलियाका बिरामी उहाँका दाइ शय्यामा पल्टिरहनु भएको छ । एक वर्ष अगाडि पनि यही रोगबाट सताएपछि वीर अस्पतालमै देखाइएको थियो । अहिले एक वर्षपछि फेरि यही रोगले सताएपछि शुक्रवार उहाँ बिरामी लिएर वीर अस्पताल आइपुग्नु भयो । शुक्रवार डाक्टरलाई देखाएपछि बिरामीलाई त्यसै दिन भर्ना गरियो । डाक्टरहरुले उपचार गरिरहनु भएको छ ।

संयोग के भने शुक्रवार उहाँको दाइलाई अस्पतालमा भर्ना गरियो । अनि शुक्रवारदेखि नै अस्पतालका सात सय शय्या निःशुल्क भए । उहाँलाई भने यो निःशुल्कको खबरबारे केही जानकारी छैन । उहाँ भन्नुहुन्छ, ‘मोबाइलमा पनि यसो समाचार त हेरिराखेकै हो तर, यसको बारेमा केही जानकारी छैन । शायद अब डिस्चार्ज हुने बेलामा यो सबै थाहा होला निःशुल्कको बारेमा ।’

सरकारले शुक्रवार वीर अस्पतालका सात सय शय्या निःशुल्क गर्ने घोषणा गरेको थियो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयले शुक्रवार आयोजना गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक सार्वजनिकीकरण कार्यक्रममा यस्तो घोषणा गर्नु भएको थियो ।

सरकारले निःशुल्क घोषणा गरेको यस्ता ‘जनरल बेड’मा यसअघि दुई सय रुपैयाँ लाग्थ्यो भने १० प्रतिशत शय्या निःशुल्क थियो । नौ सय ६० शय्या रहेको वीर अस्पतालमा ‘जनरल बेड’ बाहेक क्याबिन, आईसीयू, एचडी तथा पोष्ट अपरेटिभमा भने शुल्क लाग्छ ।

१९४७ सालमा वीरशमशेरले वीर अस्पताल स्थापना गर्दा निःशुल्क सेवा दिने उद्देश्यले स्थापना गरेको र त्यो आधारभूत सिद्धान्तलाई लिएर अस्पताल अगाडि बढिरहेकोे बताउनुहुन्छ निर्देशक डा. सन्तोष पौडेल  । उहाँ भन्नुहुन्छ, ‘वीरशमशेरले अस्पताल शुरु गर्दा बिरामी आएर सुतेको खाएको पैसा लाग्ने छैन भनेर प्रष्टसँग लेखिएको छ । हामी पनि त्यसै अनुरुप अगाडि बढिरहेका छौँ ।’

यसअघि अस्पतालका कर्मचारीको सेवा सुविधा आन्तरिक आयबाट बेहोर्दै आएकोमा कोरोनाकालमा अर्थिक संकट परेर नसकेपछि अस्पताल प्रशासनले ‘जनरल बेड’को दुई सय रुपैयाँ लिँदै आएको थियो । 
अस्पतालले ‘जनरल बेड’को न्यूनतम शुल्क दुई सय रुपैयाँ लिँदै आएकोमा स्वास्थ्य मन्त्री बस्नेतले बरु यो शुल्कको साटो मन्त्रालयले शोध भर्ना दिने तर, निःशुल्क गरौँ भनेपछि निःशुल्कको व्यवस्था गरिएको निर्देशक पौडेल बताउनुहुन्छ ।

पौडेल भन्नुहुन्छ, ‘मन्त्री बस्नेतको निर्देशनपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले सात सय शय्याको जनरल बेडलाई निःशुल्क गरौँ भनेर हामीले शुक्रवार निर्णय गरेका हौँ ।’

निःशुल्क शय्या भन्नाले बिरामीले शय्यामा बसेर जुन सेवा पाउँछ त्यो शय्याको सेवा शुल्क तिर्न नपर्नु नै निःशुल्क हो । यसमा डाक्टरले बिरामी जाँचेको तथा नर्सले दिने सेवामा कुनै शुल्क लाग्दैन । निजी अस्पतालमा भने हरेक पटक डाक्टरले बिरामी हेर्दा तथा नर्सले दिने सेवामा पनि बेग्लै शुल्क लगाउने गरिएको छ ।

निर्देशक पौडेल भन्नुहुन्छ, ‘निःशुल्क भनेको शय्या सेवा शुल्क हो । तर, निःशुल्क भनेर सबै निःशुल्क होइन । ओपीडीको टिकटको भने पैसा लाग्छ । साथै ल्याब तथा अन्य सेवाको पनि पैसा लाग्छ ।’
यो व्यवस्था लागू हुनु अगाडि नै वीर अस्पतालले १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था गरेको थियो । जसमा विपन्न, असहाय, पिछडिएकाहरुले यस्तो सेवा प्राप्त गर्न सक्थे । तर, अब सात सय शय्या निःशुल्क भएपछि भने यसको लाभ सबैले पाउने पनि निर्देशक पौडेलले बताउनु भयो ।

विपन्न तथा असहाय शय्यामा एकहप्ता अघिदेखि आफ्नो बुवाको उपचार गराइरहनु भएका सिन्धुपाल्चोकका रमेश सेन्चुरी भने आफूलाई यसको बारेमा केही थाहा नभएको र अस्पताल प्रशासनले पनि केही जानकारी नदिएको बताउनुहुन्छ ।

मधुमेह, उच्च रक्तचाप तथा दमका बिरामी बुवालाई भर्ना गर्नु अगाडि उहाँलाई १५ सय रुपैयाँ अग्रिम जम्मा गर्न भनिएको थियो । तर, त्यति रकम पनि नभएका कारण अस्पताल प्रशासनले पाँच सय रुपैयाँ अग्रिम लिएर भर्ना गरेको सेञ्चुरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीलाई यो निःशुल्क आदि इत्यादिका बारेमा थाहा छैन । डाक्टर तथा सिस्टरहरुले पनि यसका बारेमा बताउनु भएको छैन । शायद डिस्चार्ज गर्दा कुरा हुन्छ कि । अहिलेलाई भने केही थाहा छैन ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया