बसपार्कमा मात्रै यात्रु चढाउने र ओराल्ने निर्णय पूर्ण कार्यान्वयन हुन केही समय लाग्ने

 असार १४, २०८० बिहिबार १२:३१:२० | वैद्यनाथ पाैडेल
unn.prixa.net

असार १ गतेदेखि काठमाण्डौ भित्रिने तथा बाहिरिने सबै गाडी नयाँ बसपार्कबाटै छुट्नुपर्ने नियम अझै कार्यान्वयनमा आउन सकेको छैन । कलंकी, कोटेश्वर लगायतका ठाउँमा अहिले पनि गाडी पर्खने र ओर्लने यात्रुको भिड देख्न सकिन्छ । नेपालगञ्ज जाने गाडी कुरिरहनु भएका खजुरा गाउँपालिका–५ का रमेश मल्ललाई नयाँ बसपार्क गएर त्यही गाडी चढेर फेरि कलंकी आउनु साटो कलंकीमै गाडी चढ्न सजिलो लाग्छ ।

‘बसपार्कबाहेक अन्तबाट गाडी चढ्न नपाइने नियम वास्तवमै राम्रो हो । तर, कलंकी, कोटेश्वर नाकाबाट गाडी चढ्ने र झर्नेलाई भने यो नियमले अप्ठेरो पार्छ,’ मल्ल भन्नुहुन्छ,  ‘अब कलंकीमै बस्ने मान्छे गाडी चढ्न भनेर फेरि बसपार्क जानुपर्ने भयो । यो अलि कस्तो कस्तो भयो ।’

काठमाण्डौ महानगरले ट्राफिक व्यवस्थापनमा सजिलो होस् भनेर विभिन्न नाकाबाट काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने गाडी नयाँ बसपार्कबाट मात्रै छुट्ने र अन्यत्रबाट यात्रु चढाउन तथा ओराल्न नपाउने नियम लिएर आयो । तर, गाडीवालाभन्दा पनि यसको पालनामा यात्रुहरुले झण्झट मानेको देखिन्छ ।

पिठ्युँमा सानो झोला बोकेर विराटनगर जाने गाडीको प्रतिक्षामा हुनुहुन्छ रविन्द्र भट्टराई । आफन्तको बिहेमा सहभागी हुन जान लाग्नु भएका उहाँलाई पनि महानगरले ल्याएको नियम राम्रो लागेको छ । यसका कारण सडकमा जाम कम भएको कुरा पनि स्वीकार गर्नुहुन्छ । तर, बसपार्क बाहेक अन्यत्रबाट चढ्न र ओर्लनै नपाउने भन्दा पनि यसो मिलाएर कतैबाट चढ्ने ओर्लने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने उहाँको चाहना छ ।

उहाँ भन्नुहुन्छ, ‘यो नियमपछि कलंकीमै पनि जाम घटेको छ । बाटो धेरै खुला भएको छ । तर, यसले यात्रुलाई केही समस्या पनि छ । चढ्न, उत्रन बसपार्क नै जानुपर्छ भन्दा चाहिँ अलि नमिल्दो भएजस्तो लाग्यो ।’

भट्टराईले भने जस्तै महानगरको यो नियमपछि कलंकीमा जाम घटेको छ । गाडीहरु धेरै बेर रोकिएका छैनन् । अटेर गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने डरले छिटै गन्तव्य तिर लागिहाल्छन् । ट्राफिक प्रहरी पनि सक्रिय देखिन्छ । तर, महानगरले भनेजस्तो गाडी रोक्नै नपाउने, यात्रु चढ्न, ओर्लन नै नपाउने गरीको बन्देज भने कलंकीको सडकमा देखिँदैन ।

काठमाण्डौ महानगरका ट्राफिक प्रहरी सल्लाहकार तथा यातायात विज्ञ जगतमान श्रेष्ठ अहिले महानगर बजेट तथा अन्य यस्तै प्राविधिक काममा व्यस्त रहेकोले यसमा ध्यान दिन नपाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘महानगर अहिले बजेटलगायतका प्राविधिक काममा व्यस्त छ । कार्यदलको बैठक पनि बसेको छैन । अबको एक हप्तामा यसमा पूर्ण सुधार आउँछ ।’

श्रेष्ठले नियम लागू भएको १०/१२ दिनमा पूर्णरुपमा कार्यान्वयनमा आउने र कलंकी, बल्खु तथा कोटेश्वरमा गाडी रोकेर यात्रु चढाउन तथा ओराल्न नपाउने बताउनु भएको थियो । तर, अहिले सडकमा हेर्दा त्यो स्थिति देखिँदैन ।

उहाँ भन्नुहुन्छ, ‘हामीले १०/११ दिन भनेको हामी केही प्राविधिक कठिनाइका कारण दुई/चार दिन पछि पर्यौँ । १५/१६ गतेदेखि हुन्छ । हुन चाहिँ हुन्छ ।’

यसै निर्णयलाई लागू गर्नका लागि आउनसक्ने व्यावहारिक कठिनाइका विषयमा अध्ययन गर्न १३ सदस्यीय एउटा कार्यदल बनेको छ । जसको अध्यक्ष महानगरका यातायात विज्ञ श्रेष्ठ नै हुनुहुन्छ । त्यस्तै तीन वटा यातायात संगठन, ट्राफिक प्रहरी तथा नेपाल प्रहरी साथै नेपाल सरकारका अन्य सम्बद्ध निकायको पनि कार्यदलमा सहभागिता रहेको छ ।

अहिले महानगरको बजेट तथा अरु कामको व्यस्तताले कार्यदलको बैठक नबसेको र बैठक बसेपछि सम्भावित बिसौनीका बारेमा निर्णय हुने बताउनुहुन्छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर ।

उहाँ भन्नुहुन्छ, ‘महानगरको बजेट आदि कार्यक्रमले अहिले बैठक बस्न सकेको छैन । बैठक बसेपछि कहाँ के गर्ने भन्ने कुरा निर्धारण हुन्छ ।’

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया