बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन, आयोजना 'रेडी टु गो' को अवस्थामा छ : प्रधानमन्त्री

 साउन ३, २०८० बुधबार १५:१७:४ | किरण लोहनी
unn.prixa.net

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाइने बताउनुभएको छ । बुधवार गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले छिटै निर्माण कार्यको पनि शिलान्यास गरिने बताउनुभयो । 

'हिजो साँझमात्रै ऊर्जा मन्त्रालयको आयोजनामा सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरूबीच छलफल भयो, म ढुक्कसँग तपाईँहरूको सामु भन्न सक्ने भएर आएको छु कि यो आयोजना निर्माणको काम हरहालतमा अघि बढ्छ', उहाँले भन्नुभयो, 'पूर्वतयारीका काम लगभग सकिएको छ, लगानीको स्रोतको पनि एउटा टुङ्गो लागेको छ, बुढीगण्डकी 'रेडी टु गो' को अवस्थामा पुगेको छ ।'

जलाशययुक्त आयोजना भएकाले बर्खामा बिजुलीकाे उत्पादन खेर जाने र हिउँदमा अभाव हुने परिस्थिति यो आयोजना बनेपछि समाधान हुने प्रधानमन्त्रीले बताउनुभयो । अबको २०/३० वर्षसम्ममा उत्पादन धेरै र खपत कम हुने अवस्था आउने भएकाले देशभित्रै बिजुली खपत बढाउन सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ छ । स्वदेशमा खपत बढाएसँगै भारत र बङ्गलादेशमा बिजुली बिक्री गरिने प्रचण्डले बताउनुभयो । 

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनालाई सामान्य जलविद्युत् आयोजनाको रूपमा मात्र लिन नहुने बताउनुभयो । बहुउद्देश्यीय यो आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्नुपर्ने भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभयो, 'यता र उता गर्दैमा १० वर्ष खेर फाल्याैँ, अब चाहिँ आयोजना निर्माणको मोडालिटी के हो ? कसरी बनाउन खोज्नुभएको हो ? '

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् बुढीगण्डकी जलविद्युत् कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावित क्षेत्र गोरखा र धादिङका सांसदहरूले आयोजना निर्माण कार्य छिटो शुरु गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकारले आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो । आयोजना निर्माणका लागि बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिएको हो । परामर्शदाता कम्पनी फ्रान्सको ट्रयाकबेल इन्जिनियरिङले सन् २०१५ मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत दुई अर्ब ५९ करोड अमेरिकी डलर रहने उल्लेख छ । 

अहिलेको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत दुई अर्ब ७७ करोड डलर रहेको छ । आयोजनाको निर्माण अवधि आठ वर्ष रहने भनिएको छ । अहिलेसम्म गोरखा र धादिङतर्फ गरी ४९ हजार ९५ रोपनी जग्गाको मुआब्जाबापत ३४ अर्ब २१ करोड रुपैयाँ वितरण गरिएको छ ।

यस्तै २२ हजार चार सय तीन घरगोठलगायत अन्य भाैतिक संरचना, सात लाख ८७ हजार आठ सय ५४ वटा बोटबिरुवा तथा फलफूको क्षतिपूर्तिबापत जग्गाधनीलाई छ अर्ब ९१ करोड रुपैयाँ वितरण गरिएको छ ।

आयोजनाबाट भौतिक तथा आर्थिकरूपमा गोरखा र धादिङका आठ हजार एक सय १७ घरपरिवार प्रभावित हुने छन् । यसमध्ये तीन हजार पाँच सय ६० घरपरिवार पूर्णरूपमा विस्थापित हुने छन् । गोरखा र धादिङको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि दुई सय ६३ मिटर अग्लो बाँध बनाइने छ । बाँध बाँधेपछि थुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटरमा फैलने छ । जसबाट धादिङका १० वटा पालिका प्रभावित हुनेछन् । आयोजनाको अधिकतम जलशतह पाँच सय ४० मिटरसम्म रहने छ । आयोजनाबाट वार्षिकरूपमा तीन अर्ब ३८ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया