‘पहिले न्याय नपाए गोरखा जानु, अहिले न्याय नपाए माइतीघर जानु’

 साउन ३०, २०८० मंगलबार १०:२९:१४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

उहिले न्याय नपाए गोरखा जानु भनिन्थ्यो । तर, त्यही गोरखाका तेलबहादुर घले भने न्याय माग्न माइतीघरमा धर्ना कसेको ८३ दिन भयो । धर्ना बसेको झण्डै तीन महिना हुनलाग्दा पनि उहाँसँग कसैले सम्पर्क, कुराकानी र भेटघाट गरेको छैन । तर, पनि उहाँ आफ्नो माग सम्बोधन हुनेमा ढुक्क हुनुहुन्छ र धर्ना छोड्नु भएको छैन ।

१९ बुँदामा समेटिएका आफ्ना कुराहरु लेखिएको ब्यानरमुनि उहाँ एक्लै धर्नामा बसिरहनुभएको छ । एक्लै भएका कारण कहिले सहकारीपीडितको आन्दोलनले त कहिले लघुवित्तको आन्दोलनले उहाँलाई बस्ने ठाउँ नै हुँदैन । त्यस्तो बेला उहाँ पारि सडकपेटीबाट अरुका आन्दोलन हेर्नुहुन्छ । आफ्नै माग लेखिएको फ्लेक्स बोर्डलाई हेर्नुहुन्छ । अनि अरुका आन्दोलन केही मत्थर भएपछि चुपचाप आफ्नै ठाउँमा आएर बस्नुहुन्छ । यसैगरी चलिरहेको छ उहाँको ‘एक्लो आन्दोलन’ ।

गोरखा सुलीकोट गाउँपालिका–२ बारपाकका घलेले गोरखाकै धार्चे गाउँपालिका–९ दोभानमा २०७३ सालमा बुढी गण्डकी गेष्ट हाउस शुरु गर्नुभयो । त्यही साल फागुनको २८ गतेदेखि उहाँको गेष्ट हाउस सञ्चालनमा आयो । उहाँले एक वर्ष होटल राम्रोसँग चलाउनु भयो ।

२०७४ सालदेखि सेनाले आरुघाट लार्केभञ्ज्याङ हुँदै चीन जोड्ने सडक बनाउन शुरु गर्यो । जहाँ मानिस तथा मेशिनको प्रयोग गरेर बनाउन सकिँदैन थियो । त्यसैले विष्फोटक पदार्थको प्रयोग गर्नुपर्थ्याे । यही क्रममा ढुंगा उछिट्टिएर आएर उहाँको गेष्ट हाउसमा नोक्सानी भयो ।

करिब एक वर्ष सडक बनाउने क्रममा सडक तातोपानी आइपुग्यो । तर, सेनाले मेलैसँग काम नगरी पाँच किलोमिटर त्यसै छोडेर उहाँको होटल नजिकबाट सडक बनाउन शुरु गर्यो । त्यसबेला त्यति धेरै नोक्सानी भने भएको थिएन । प्रत्येक कोठामा एउटा, दुई वटा काठ भाँच्चिने, जस्तामा प्वाल पर्ने भएकाे थियो।

तर, सडक बनाउँदा बनाउँदै २०७५ साल असोजमा सेनाले दशैँ मनाएर मात्र सडक बनाउने भनेर काम अलपत्र छोडेर हिँड्यो । उहाँले पनि दशैँ/तिहारमा अब सडक बनाउँदैनन् होला भनेर ६० हजार रुपैयाँ ऋण खोजेर मर्मत गर्नुभयो । त्यसबेला उहाँले २०७५ सालमा सिजन शुरु हुने बेलामा त्यहाँ बाटो बनाउँदै गरेको नेपाली सेनालाई एक सिजन भए पनि गेष्ट हाउस चलाउन अनुरोध गर्नुभयो । तर, सेनाको उत्तर थियो, सेनाको काम एक दिन पनि रोक्न मिल्दैन ।

त्यसपछि पुनः सडक बनाउँदा भने उहाँको होटल कामै नलाग्ने गरी क्षति भयो । त्यसपछि २०७६ साल असारमा उहाँ होटल छोडेर आउनु भयो ।

उहाँलाई गेष्ट हाउस बनाउँदा ४५ लाख रुपैयाँ लागेको छ । सडक बनाउँदा गेष्ट हाउस क्षति भएपछि उहाँले नेपाली सेनासँग क्षतिपूर्तिको माग पनि गर्नुभयो । त्यसबेला सडक बनाउन नेतृत्व गर्नुभएका सेनाका मेजर निशान्त पण्डितले क्षतिपूर्ति दिने बताउनु भएको थियो । तर, उहाँ आठ करोड भ्रष्टाचारको कुरामा सैनिक हिरासतमा पर्नुभयो ।

यो कुरो उहाँले सैनिक हेडक्वार्टरमा पुगेपछि थाहा पाउनु भयो । सैनिकले एक दिन पनि काम रोक्न मिल्दैन भनेको थियो । तर, काम छ महिना पनि नभएपछि कारण बुझ्न सैनिक हेडक्वार्टर जाँदा उहाँले यो कुरा थाहा पाउनु भएको हो । उहाँले हेडक्वार्टर पुगेर सोधपुछ गर्दा अब उसलाई खोजी गर्नुपर्दैन, ऊ नजरबन्दमा छ, बाहिर ननिस्केसम्म तिम्रो कुनै कुरा हुँदैन, तिमी फर्केर जाउ भन्ने जवाफ पाउनुभयो । यसपछि उहाँ हेडक्वार्टरबाट फर्केर आउनु भयो ।

फर्केर आएको एक महिनापछि मेजर पण्डितको फोन आयो । किन हेडक्वार्टर आएको भनेर थर्काए । उहाँले यही होटलबाट बाँच्नु पर्ने, छोराछोरीलाई ख्वाउने पढाउने आधार नै यही होटल भएका कारणले त्यहाँसम्म पुग्नुपरेको बाध्यता बताउनु भयो । सेनाले तीन महिनाभित्र सडक बनाइदिन्छौं भने ।

तर उहाँ छ महिनापछि जाँदा पनि अवस्था उस्तै थियो । सडक बनेको थिएन । उहाँले पण्डितलाई फोन गर्नुभयो । पण्डितले यो सबै कुरा धार्चे गाउँपालिकामा गरिसकेको छ उतै गएर बुझ्नु भन्ने जवाफ दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘गाउँपालिकामा पुग्दा बाटो जहिले क्लियर हुन्छ त्यतिखेर पाउँछ क्षतिपूर्ति भनिराखेको रैछ । बाटो कहिले हुने उहाँले काम नै छोडर गइसकेछ ।’

आम्दानीको बाटो र गरिखाने एउटै होटल चलाउन नपाएपछि उहाँ न्याय खोज्न भनेर जिल्ला प्रशासन कार्यालय गोरखा जानुभयो । निवेदन दिनुभयो । तर, प्रमुख जिल्ला अधिकारीले यो केन्द्रबाट आएको कुरा उतै मिलाउनुस् यहाँ हुँदैन भने ।

त्याहाँबाट पनि समस्या समाधान नभएपछि उहाँले आफ्ना कुरा पत्रकार समक्ष राख्नुभयो । पत्रकारले सेनाले सडक बनाउँदा बम विस्फोट गरेका कारण गाउँलेको होटल क्षति भएर उठीबास भयो भनेर लेखे । त्यसपछि काममा आएका नयाँ मेजरले सेनाको बारेमा किन पत्रिकामा लेखेको भनेर उहाँलाई धम्क्याए । दुई/दुई वर्षमा पनि आफ्नो एउटै गरिखाने बाटोको कुनै उपाय नभएपछि गएको भनेर उहाँले भन्नुभयो ।

उहाँले न्याय नपाए अब अदालत जाने बताउनुभयो । मेजरले अदालत गए नराम्रो हुने बरु राम्रो क्षतिपूर्ति दिन्छु भनेर सम्झाए पनि थर्काए पनि । जिल्लाबाट आएको इन्जिनियरले उहाँको होटलको क्षतिपूर्ति नौ लाख रुपैयाँ निकाले । यत्रो लगानी गरेर यति समय चलाउन नपाउँदा यति क्षतिपूर्ति हुँदैन भन्ने उहाँको जवाफ थियो । त्यसपछि गाउँपालिकाको इन्जिनियरले १३ लाख ८२ हजार रुपैयाँ निकालेको छ त्यति दिन्छु भन्ने प्रस्ताव आयो । त्यतिमा उहाँ राजी हुनु भएन ।

उहाँले काम अलपत्र पारेर गएको अनि बाटो पनि नबनाएकोले आफूलाई यो कुरा चित्त नबुझेकोले न्यायालय जान्छु भन्नुभयो । यसो भन्दा उहाँलाई खुरुक्क दिएको जति लिने भए लिनु नभए यो पनि पाउँदैनस् भन्ने धम्की पनि आयो । उहाँ भन्नुहुन्छ, ‘दिएको जति लिने भए लिनु नत्र यो पनि पाउँदैनस् । यो पनि पाउँदैनस् । तँलाई न्यायालयमा गयो भने राम्रो हुनेछैन भनेर धम्की दिए ।’

त्यसपछि उहाँले २०७८ साल असार २८ गते १३ लाख ८२ हजार क्षतिपूर्ति लिनुभयो । उहाँ यति क्षतिपूर्ति नलिने मनशायमा हुनुहुन्थ्यो । तर, हेडक्वार्टर गएको, पत्रिकामा छपाएको अनि न्यायालय जान्छु भन्दा धम्की दिएका कारण आफू बाध्य भएको बताउनुहुन्छ । उहाँ त्यसबेला कोरोनाले थलिएर बस्नु भएको थियो । क्षतिपूर्ति लिन आउन नसक्ने बताएपछि उहाँलाई बैंक खाता खोल्न भनियो । उहाँले वाणिज्य बैंकमा खाता खोलेर खाता नम्बर पठाउनु भयो । उहाँ त्यसबेला उपचारका क्रममा काठमाण्डौमा हुनुहुन्थ्यो ।

उहाँलाई त्यसपछि असार २९ गते काठमाण्डौको बानियाटारमा सही गर्न भनेर फोन आयो । कागजमा अबदेखि कहीँ उजुरबाजुर गर्नेछैन भनेर लेखिएको थियो । त्यसपछि उहाँलाई सही गर्न मन लागेन । उहाँले कागज लेख्दा त एक पक्ष बसेर लेखेर हुँदैन, दुवैपक्ष बसेर बनाउनुपर्छ भन्नुभयो । उहाँ सही नगर्ने सुरमा हुनुहुन्थ्यो । तर हेडक्वार्टर गएको, पत्रकारलाई भनेको, जिल्ला प्रशासनमा गएको, न्यायालय जान्छुभन्दा धम्की आएका कारण आफू बाध्य भएर सही गर्नुपरेको भन्नुहुन्छ घले ।

सही गरेर क्षतिपूर्ति लिए पनि ऋण र ब्याजले उहाँलाई निद्रा तथा चैन भएन । ‘खाँदा बस्दा यही कुराले सताउन थाल्यो । अरु काम पाइन्छ कि भनेर ट्रेकिङ अफिस पनि गयो । अब माथि जान सक्दैन । तिम्लाई हाम्ले कसरी काम दिनसक्छ भन्यो,’ उहाँ आफ्ना पीडा ओकल्नुहुन्छ ।

लिएको क्षतिपूर्तिले ऋणको ब्याज पनि तिर्न नपुगेको घले बताउनुहुन्छ । जग्गा भाडा पनि तिर्न बाँकी छ । यही बीचमा भएको ऋण तिर्नुपर्छ भनेर अर्को ऋण लिएरै छोराछोरी दुवै विदेश गए । छोराले विदेशबाट पठाएको रकमले कोठाभाडा, जग्गाभाडा र ब्याज तिर्न पुगेको छ । छोरीले पैसा पठाएकै छैन । साहुले होटल बनाउँदा लागेको ऋण तथा ब्याज माग्न ताकेता गर्न थालेपछि मानसिक दबाब खप्न नसकेर श्रीमतीलाई भने डिप्रेशन भएको छ ।

होटल मर्मत गर्दा लागेको ४५ लाख र जग्गा भाडा २२ लाख रुपैयाँ गरेर झण्डै ६८ लाख क्षतिपूर्ति पाउनुपर्ने उहाँको माग छ ।

अरु कुनै उपायबाट पनि आफूले लागेको ऋण तथा ब्याज तिर्न नसकेपछि बाध्य भएर माइतीघरमा आएर धर्ना दिनु परेको उहाँ बताउनुहन्छ । जेठ १० गतेदेखि धर्ना दिएको बताउने घले अहिलेसम्म आफूसँग कसैले केही सम्पर्क नगरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहन्छ, ‘सरकारबाट केही सूचना पनि पाएको छैन । केही सम्बोधन गरेको छैन । कोही आएर हेरेको पनि छैन । खाली बसिरहने मात्रै छ ।’

अहिले माइतीघरमा धर्ना दिनेमा उहाँ नै ‘जेठो’ देखिनुहुन्छ । उहाँसँगैजसो आन्दोलन थालेका धेरैका माग पूरा भएर माइतीघर छाडिसके । सहकारीपीडितको आन्दोलन एक महिना स्थगित भएको अवस्था छ । सरकारले लघुवित्तको आन्दोलन सकिएको बताए पनि पीडितहरु भने भदौमा फेरि शुरु गर्ने बताउँछन् । अहिले माइतीघरमा धनुषाकी आरती साहको हत्याको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै परिवारै असार १ गतेदेखि धर्नामा छन् ।

त्यस्तै २०४७ सालको संविधान पुनःस्थापना हुनुपर्छ भन्नेहरुको अर्को समूह छ । बाँकेकी आरती रावल गिरि न्यायाधीश भुवन गिरिले अन्याय गरेको भन्दै अनशनमा हुनुहुन्छ । पद निलम्बन भए पनि सेवा, सुविधा पाइरेहेकाले त्यसको अन्त्य हुनुपर्यो भन्ने उहाँको माग छ । त्यस्तै चिकित्सा शिक्षा ऐन परिमार्जनको माग लिएर चिकित्सा शिक्षा सरोकार समितिले पनि धर्ना शुरु गरेको छ । यी सबैलाई एक्लै नियालिरहनु भएको छ गोरखाका तेलबहादुर घले ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया