हुलाकी राजमार्ग : मधेसको 'लाइफलाइन' ले जगाएको आशा

 भदौ ३, २०८० आइतबार २०:३१:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

पर्सा – कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरूप यति बेला फेरिएको छ । बजारको स्वरूप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ । 

सिरहाको बरियारपट्टी बजार पनि अहिले सुगम क्षेत्रका रूपमा आफ्नो पहिचान फेर्न लागेको छ । भारतीय सीमा नाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेको छ भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन् । ‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो’, धनुषाको औरहीका विनोद यादव भन्नुहुन्छ, ‘तर अहिले सडक फराकिलोसँगै बजारमा पक्की भवन र ठूला पसलहरू खुल्न थालेका छन् ।’ 

पर्साको ठोरी गाउँपालिकालाई केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रूपमा मानिथ्यो । तर अहिले ठोरीले आफ्नो पुरानो पहिचान फेरेको छ । यति बेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ । सडक सञ्जालको विकास नहुनु र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्र भएसँगै विकासको गतिमा अघि बढेको छ । पूर्व–पश्चिम हुलाकी सडक कालोपत्र भएसँगै ठोरीका स्थानीयको अनुहारमा यति बेला मुस्कान छाएको छ । 

हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि सदरमुकाम वीरगञ्ज पुग्न सहज भएको छ । ‘वीरगञ्जदेखि ठोरीसम्मको दूरी झन्डै ५२ किलोमिटर पर्छ, गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात/आठ घण्टासम्म लाग्दथ्यो’, ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठ भन्नुहुन्छ, ‘सडक कालोपत्र भएपछि अहिले एक घण्टामै पुग्छौँ ।’ अब धुलो र हिलोबाट समेत हामीले मुक्ति पाएको उहाँको भनाइ छ । 

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी पर्यटन र कृषिको प्रशस्त सम्भावना रहे पनि सडक सुविधा नहुँदा यहाँका बासिन्दाको जीवनस्तर माथि उठ्न सकेको थिएन । ‘पहिला गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल सहज रूपमा वीरगञ्ज बजार पुर्‍याउन समस्या हुन्थ्यो’, बहुदरमाई नगरपालिकाका श्रवण महतो भन्नुहुन्छ, ‘तर अहिले यो सडकमा थुप्रै सङ्ख्यामा अटो रिक्साहरू चल्न थालेपछि सहजै तरकारी, फलफूल बजार पुर्‍याउन सकेका छौँ ।’ 

छोटो समयमै धनुषा र सिरहासहित मधेस प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेसकै ‘लाइफ लाइन’ को रूपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो । देशकै पुरानो राजमार्गहरूमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठ वटै जिल्लामा सडक निर्माणको काम तीव्र रूपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्रहरू अहिले सुगम क्षेत्र बन्दै गएको छ ।

हुलाकी सडकको निर्माणको काम शुरु भएपछि यो भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुका साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने उनीहरूको विश्वास छ ।

हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन पालिकाको विकासमा ठूलो टेवा पुगेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहता बताउनुहुन्छ । ‘हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्याङ्कनसमेत बढ्दै गएको छ’, सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव भन्नुहुन्छ, ‘पहिला मुस्किलले प्रतिकठ्ठा २० लाखमा बिक्री हुने जग्गाहरू अहिले कठ्ठाको ६० देखि ७० लाख रुपैयाँमा बिक्री हुन थालेको छ ।’ 

‘सडक निर्माणका कारण गाउँ र बजारको दूरी घटेको छ, गाउँका स्थानीय बजार आएर सहजै किनबेच गरिरहेकाले व्यापार बढेको छ’, सप्तरीको बोदेबर्साइनका व्यापारी दीपेन्द्र मण्डल भन्नुहुन्छ, ‘पहिला सडक जीर्ण हुँदा गाउँबाट बजार आउन स्थानीयलाई समस्या हुन्थ्यो, अहिले बजारसम्म आउन सहज भएको छ, त्यसैले बिक्री बढेको छ ।’ सडक निर्माणले गाउँ र बजारलाई जोड्ने काम समेत गरेको मण्डलको भनाइ छ ।

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म झन्डै साढे पाँच सय किलोमिटर सडकमा कालोपत्र र ६० वटाभन्दा बढी पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । 

पूर्व सप्तरीको कञ्चनपुरदेखि सदरमुकाम राजविराजसहित बलान खोलासम्मको ४६ किलोमिटर सडकमा पुलसँगै सडक निर्माणको काम तीव्र रूपमा भइरहेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले जानकारी दिनुभयो । ‘पूर्व कञ्चनपुरदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा दुई वटा कन्ट्र्याक्टरमार्फत काम भइरहेको छ’, प्रमुख थापा भन्नुहुन्छ, ‘अहिलेसम्म ३२ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी झन्डै आठ किलोमिटर सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम भइसकेको छ ।’

यस्तै पूर्व बलान खोलादेखि सर्लाहीसम्मको झन्डै ९० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको झन्डै दुई सय ३३ किलोमिटर सडकअन्तर्गत अहिलेसम्म एक सय १८ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी १५ किलोमिटर सडकमा पनि तीव्र रूपमा काम भइरहेको छ । जनकपुरधामको कदम चोकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये २४ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी दुई किलोमिटरमा पनि काम भइरहेको कार्यालयका प्रमुख कृष्णकुमार महतोको भनाइ छ । 

सप्तरी र सिरहाको सीमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमा कालोपत्र सकिएको र त्यो खण्डमा एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख महतो बताउनुहुन्छ । यो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सक्ने जनाएको छ । एक वर्षअघिसम्म सुस्त देखिएको सर्लाही खण्डमा पनि काम तीव्र रूपमा अघि बढेको छ । 

सर्लाहीको सितलपुर–मलंगवा खरैया टोलसम्मको सडक निर्माणको काम शुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो । झन्डे ४० किलोमिटरको यो सडक हस्तान्तरण भएयता ३८ किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र बाँकी खण्डमा माटो ग्राभेलको काम भइरहेको छ । 

चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड–१९ माहामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही समय पछि धकेलिएको उहाँको भनाइ छ । 

यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडक खण्डमा निर्माणधीन नौ वटा पुलमध्ये पाँच वटाको निर्माणको काम सम्पन्न भइसकेको र कमला नदीको पुलसहित चार पुलको काम भइरहेको कार्यालयले जनाएको छ । रौतहटदेखि चितवनसम्मको झन्डै दुई सय ५१ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी ३२ किलोमिटरमध्ये वनजङ्गल तथा जग्गासम्बन्धी विवादका कारण प्रभावित भएको जनाएको छ ।

पर्साको ठोरी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जङ्गल परेकाले त्यहाँ कसरी विस्तार गर्नेलगायतका विषयमा वातावरण प्रभाव मूल्याङ्कनका लागि हुलाकी सडक विभाग र मन्त्रालयमा सिफारिस पठाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो । वातावारण प्रभाव मूल्याङ्कन प्रतिवेदन आएलगत्तै यो क्षेत्रमा सडक कालोपत्रलगायतका काम अघि बढाइने उहाँ बताउनुहुन्छ ।

यस्तै हुलाकी सडकअन्तर्गत रौतहटदेखि चितवनसम्म निर्माणाधीन पुलहरूमध्ये आव २०७९÷८० मा पाँच वटा पुल निर्माण सम्पन्न भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर ठाकुरका अनुसार गएको आवमा १४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामा पाँच वटा पुल निर्माण सम्पन्न भइसकेको र बाँकी नौ वटा पुलको निर्माण काम भइरहेको छ । 

गएको आवमा बाराको अरुवा खोला, डोरा खोला, पर्साको तिलाबे खोला र चितवनको टुनामुना तथा चिताई खोलाको पुल निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै रौतहटको बाग्मती नदी, भकुवा खोला र चितवनको रियू खोला, बगै खोला, घाँघर खोला, भालु खोला, पतरी खोला, बादरमुडे र मुगै खोलाको पुल निर्माणाधीन अवस्थामा छ । 

सडकतर्फ बाराको गढीमाई–बरियारपुर–कबही गोठ सडकको १० किलोमिटर सडकमध्ये साढे नौ किलोमिटर सडकको कालोपत्र सकिएको छ । यस्तै भरतपुर–ठोरी–माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जङ्गलका कारण निर्माण सामग्रीको अभाव तथा वातावारण प्रभाव मूल्याङ्कन हुन नसकेकाले झन्डै २० प्रतिशतमात्र सडकको काम हुन सकेको छ ।

जग्गा विवादले निर्माण कार्य प्रभावित

राष्ट्रिय गौरव आयोजनामध्ये निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मको केही भागमा जग्गासम्बन्धी विवादका कारण काम प्रभावित भएको छ । जग्गा विवादलाई लिएर स्थानीयले अदालतमा दिएको मुद्दालगायतका कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माणको काम प्रभावित भएको हो ।

पूर्व कमलादेखि पश्चिम जनकपुरधामसम्मको २७ किलोमिटर सडकमध्ये झन्डै २५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुग्न लाग्दा बाँकी झन्डै दुई किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इन्जिनियर सुनिल मुखिया बताउनुहुन्छ । 

औरही बजारको इलाका प्रहरी कार्यालय अगाडिको जग्गा आफ्नो हो भन्दै स्थानीय रामबाबु साह सुडीले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएको र त्यही मुद्दामा अदालतले मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएकाले समस्या भएको इन्जिनियर मुखिया बताउनुहुन्छ । ‘अदालतले सुडीलाई जग्गाको मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएको छ’, मुखिया भन्नुहुन्छ, ‘जग्गाको मुआब्जा उहाँलाई मात्र दिए अरू ठाउँको जग्गाधनीहरूले पनि मुआब्जा माग्छन् र विवाद हुन सक्छ ।’ जग्गा विवादले औरही बजारको झन्डै पाँच सय मिटर सडक निर्माणको काम अझ शुरु हुन सकेको छैन ।

यस्तै धनुषाको विदेह नगरपालिकाको तिकौरिया बजारमा जग्गा विवादलाई लिएर स्थानीयले अवरोध गरेपछि तिनकौरिया बजारदेखि झन्डै छ सय मिटर सडक निर्माणको काम समेत प्रभावित भएको छ । पछिल्लो समय पालिकाको समन्वयमा समस्या समाधान गरी काम शुरु गर्ने प्रयास भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोको भनाइ छ । 

लामा रमण जेभीले २०७८ चैत ३० गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७३ असार ३१ गते सम्झौता गरेको थियो । तोकिएको मितिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी २०७९ चैत ३० गतेसम्म कायम गरिएको थियो । थप अवधिभित्रै सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न ठाउँका स्थानीयले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हाल्ने र विवाद सिर्जना गर्दा सम्पन्न हुन नसकेको महतो बताउनुहुन्छ ।

यस्तै सप्तरी र सिरहाको सीमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डमा झन्डै २० मिटर सडकमा मात्र कालोपत्र गर्न बाँकी छ । सिरहा खण्डमा ३० किलोमिटरमध्ये २९ दशमलव पाँच किलोमिटर सडक कालोपत्रको काम सकिएको छ भने जग्गा विवादका कारण पाँच सय मिटर सडकमा काम अघि बढ्न सकेको छैन । जग्गा विवादका कारण महोत्तरीको दुधमति बसबिट्टी, भष्वानपुर चौक, बनचौरी तथासर्लाहीको शितलपुर–मलङ्गवा खरैयाटोल सडक खण्डमा पर्ने सर्लाहीको मलङ्गवा बजार, ब्रह्म चोक, गरहैया बजार, गोबरगञ्ज र हरिपुर्वा बजार क्षेत्रमा पनि काम अवरुद्ध भएको छ ।

जग्गासम्बन्धी विवादकै कारण सप्तरीको कञ्चनपुरदेखि बलानसम्मको सडक खण्डमा झन्डै चार किलोमिटरभन्दा बढी सडकमा काम हुन सकेको छैन ।‘स्थानीयले जग्गासम्बन्धी विवाद सृजना गरी न्यायालयसम्म पुगेपछि सदरमुकाम राजविराजमा झन्डै आठ सय मिटर सडकमा काम रोकिएको छ’, हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख विजयकुमार थापा बताउनुहुन्छ । केही दिनअघि मात्रै राजविराजको राममन्दिरदेखि छिन्नमस्ता डेरीसम्मको सडकमा नगरपालिकाले डोजर चलाएर सडक फराकिलो बनाइसकेकोले केही दिनभित्रै त्यहाँ काम शुरु गरिने उहाँको भनाइ छ ।

हुलाकी सडकअन्तर्गत बाराको गढीमाई–बरियारपुर–कबही गोठ सडकको १० किलोमिटर सडकमध्ये साढे नौ किलोमिटर सडक कालोपत्र सकिएको र बाँकी पाँच सय मिटर सडक जग्गासम्बन्धी विवादका कारण प्रभावित भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुर बताउनुहुन्छ । यस्तै भरतपुर–ठोरी–माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जङ्गलका कारण निर्माण सामग्रीको अभाव तथा वातावारण प्रभाव मूल्याङ्कन हुन नसकेकाले झन्डै २० प्रतिशत सडकको काम हुन हुन सकेको छैन । 

मधेसको 'लाइफलाइन' ले जगाएको आशा

मधेसकै 'लाइफलाइन' को रूपमा मानिएको हुलाकी सडकको निर्माणको काम अघि बढेपछि यस भेगका सर्वसाधारण खुशी भएका छन् । पूर्व–पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै झन्डै २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो जसलाई पदमशमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ । 

पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने आठ सय १७ किमीको ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२/६३ को परिवर्तनपछि भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजार चार सय ४० किलोमिटर सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो । यसबापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको सम्झदारी भएको थियो । नेपालले गरेको रेखाङ्कनअनुसार हुलाकी राजमार्गको लम्बाइ एक हजार सात सय ९२ किलोमिटर रहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया