४ दिनपछि खुल्याे बेनी–दरबाङ सडक

 भदौ २८, २०८० बिहिबार १५:१५:४८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर अवरुद्ध भएकाे सडक हिजो (बुधवार) बेलुकीदेखि सञ्चालनमा आएको हो ।

बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएकाे थियो । वर्षासँगै खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो डोजरको सहायतामा पन्छाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक खुलेसँगै बीच सडकमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । घुमाउनेभीरको सडकमा खसेको पहिरो पन्छाएपछि अहिले बेनी–दरबाङ सडकमा निर्बाध रूपमा गाडी चलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो । वर्षा कम हुँदै गएपछि बेनी–जोमसोम सडकमा पनि पहिरोको अवरोध नभएकाले सहज आवतजावत भइरहेको उहाँले बताउनुभयो ।

बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीरमा खसेको पहिरोका कारणले सर्वसाधारण तथा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । सडक अवरुद्ध हुँदा खासगरी दैनिक खाद्यान्न सामग्री बोकेका गाडी, एम्बुलेन्स तथा बिरामी ल्याएका गाडी, पालिकाका कर्मचारीलगायत सर्वसाधारण र यात्रुलाई समस्या भएको थियो ।

पश्चिमी म्याग्दी भेगलाई जोड्ने बेनी–दरबाङ सडक म्याग्दीको 'लाइफलाइन' को रूपमा मानिन्छ । यो सडक पश्चिम म्याग्दीको मंगला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुमलाई जोड्नका लागि दुई जिल्ला जोड्ने रणनीतिक सडकको रूपमा विस्तार गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया