विभागको अनलाइन प्रणालीमा समस्या, रोकियो वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिम

 कात्तिक १२, २०८० आइतबार १५:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या आउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिम रोकिएको छ ।

गएको आइतबार अर्थात् कार्तिक पाँच गतेदेखि नै अभिमुखीकरण तालिम दिने संस्थाहरू र वैदेशिक रोजगार कार्यालयहरूले प्रयोग गर्ने बायोमेट्रिक ‘डेक्सटप एप्लिकेसन’मा समस्या आएपछि श्रमिकहरूको बायोमेट्रिकसँगै अभिमुखीकरण तालिम रोकिएको हो । 

‘अष्टमीको दिनदेखि नै फेमिस प्रणालीमा समस्या आएको हो, चाडबाडको बेला भएकाले त्यसै भयो’ अभिमुखीकरण तालिम व्यवसायी महासङ्घका अध्यक्ष रामराजा गौतमले भन्नुभयो ‘फूलपातीको दिन अभिमुखीकरण तालिम लिएकाहरूको पनि बायोमेट्रिक भएन ।’

बिदापछि कार्यालय खुलेसँगै शुक्रवार र आज आइतवार अभिमुखीकरण तालिम लिन आएका श्रमिकहरूलाई तालिम प्रदायकहरूले फर्काएका छन् । 

अभिमुखीकरण तालिम दिने संस्थाहरू र वैदेशिक रोजगार कार्यालयहरूले प्रयोग गर्ने बायोमेट्रिक डेक्सटप एप्लिकेसन समस्या आएपछि श्रमिकहरूको बायोमेट्रिक लिन काम अवरुद्ध भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

पहिलो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्छ र यो तालिम लिँदा नै औँठा छापा (बायोमेट्रिक) र आँखाको स्क्यान पनि गरिन्छ ।

तर वैदेशिक रोजगार कार्यालयहरू र अभिमुखीकरण संस्थाहरूले प्रयोग गर्ने सिस्टममै समस्या आएपछि अभिमुखीकरण तालिम नै रोकिएको हो । 

पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरूले अभिमुखीकरण तालिम लिएको प्रमाणका रूपमा सिस्टममा निलो टिक लागेको हुनुपर्छ । निलो टिक नलागेसम्म श्रम स्वीकृतिको प्रक्रिया नै अघि बढ्दैन । 

नयाँ श्रम स्वीकृति लिनेको मात्र होइन पुनः श्रम स्वीकृति लिनेहरूको पनि यदि बायोमेट्रिक छैन भने श्रम स्वीकृति प्राप्त हुँदैन ।

सिस्टममा देखिएको समस्या समाधानका लागि प्राविधिक टिमले काम गरिरहेको र जतिसक्दो चाँडो समस्या समाधान गर्ने विभागले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया