प्राधिकरणले प्रमाणसहित बिल दिए महसुल तिर्न तयार छाैँ : उद्याेगी–व्यवसायी

 पुस १५, २०८० आइतबार १४:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले प्रमाणसहित डेडिकेटेड र ट्रङ्कलाइन बापतकाे बिल दिएमा महसुल तिर्न तयार रहेको बताएका छन् ।

आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उद्याेगी व्यवसायीले प्राधिकरणले अहिले विना प्रमाण हचुँवाका भरमा बिल थमाएर महसुल तिराउन खोजेको भन्दै आपत्ति पनि जनाएका छन् । उनीहरूले लोडशेडिङको समयमा तालिकाअनुसार मात्रै बिजुली प्रयोग गरेको दाबी गरेका छन् ।

लोडशेडिङको समयमा डेडिकेटेड र ट्रङ्कलाइनबाट बिजुली लिएका ग्राहकबाट अतिरिक्त शुल्क लिने निर्णयमा आफूहरूको आपत्ति नरहेको तर हचुँवाका भरमा भएको बिलिङ मान्य नहुने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताउनुभयो । उहाँले लोडशेडिङको समयमा कुन समयमा कति बिजुली उद्योगले उपभोग गरे भनेर प्रमाण माग्नु गलत हो भनेर प्राधिकरणलाई प्रश्न पनि सोध्नुभएको छ ।

यस्तै उद्योगीले विद्युत् नियमन आयोगले दैनिक छ घण्टा लोडशेडिङ भएको अवस्थामा मात्रै प्रिमियम दरमा महसुल लिन स्वीकृति दिएकोमा २०७५ वैशाख ३१ गतेदेखि लोडशेडिङ अन्त्य भएपछि पनि कुन आधारमा प्रिमियम दरमा बिल जारी भयो भनेर जवाफ मागेका छन् । डेडिकेटेडको हकमा २४ घण्टा निर्बाध र निरन्तर तथा ट्रङ्कको हकमा दैनिक छ घण्टा लोडशेडिङ भएको समयमा २० घण्टा निरन्तर बिजुली आपूर्ति गरेको प्रमाण दिएमा कानुनअनुसार प्रिमियम दरको छुट महसुल तिर्न तयार रहेको उनीहरूले जनाएका छन् ।

ट्रङ्क र डेडिकेटेड लाइनबाट बिजुली लिएका ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै प्राधिकरणले अहिलेसम्म २३ वटा उद्योगको बिजुली काटिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया