सर्लाही घटनामा आन्दाेलनरत पक्ष र प्रशासनबीच सहमति, विरोधका कार्यक्रम स्थगित

अस्पतालको नामकरण साहको नामबाट गर्ने, नगरपालिकाले मृतकको परिवारलाई रोजगारी दिने

 पुस २२, २०८० आइतबार १९:३३:४० | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा भएको घटनाका आन्दोलनरत पक्ष र प्रशासनबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनरत पक्षले विरोध प्रदर्शनका कार्यक्रम स्थगित गरेका छन् ।

आज आइतवार बेलुका मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलनरत पक्षका नेता र पीडित पक्षबीच सहमति भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय–सर्वपक्षीय छलफलपछि बरहथवामा रहेको नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयअनुसार मधेस सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शय्याको बनाउने, अस्पतालको नामकरण गोली लागेर ज्यान गुमाएका जयशंकर साहको नामबाट गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको घिमिरेले बताउनुभयो ।

सहमतिपछि तीन दिनदेखि घटनास्थलमै रहेको बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको शव पोस्टमार्टम गर्ने तयारी भएको छ ।

गएको शुक्रवार मेयर कटुवालले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा प्रदर्शन हुँदा भएको झडपमा प्रहरीको गोली लागेर साहको ज्यान गएको थियो । त्यसपछि प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन थालेका थिए ।

हिजो शनिवार दिनभर प्रदर्शन रोक्न प्रयास भए पनि प्रशासनले आक्रोशित भीडलाई शान्त पार्न सकेको थिएन । स्थानीय प्रशासनले शुक्रवार बेलुका कर्फ्यु लगाएर हिजो निषेधाज्ञा लगाएकोमा आज फेरि कर्फ्यु लगाएको थियो । घटनाको छानबिन गर्न केन्द्र सरकारले तीन सदस्यीय समिति बनाएको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया