भारतसँगकाे सम्झाैतामा लुकाउनुपर्ने कुनै प्रतिवेदन छैनन् : प्रधानमन्त्री प्रचण्ड

 पुस २५, २०८० बुधबार १३:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत सरकारसँग भएको सम्झौतको प्रतिवेदनहरू समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभयाे । उहाँले भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभई अन्य देशहरूसँग पनि हुँदै आएको दाबी गर्नुभयो । भारतसँगको यो सम्झौता सङ्घीय सरकारको हात माथि पर्ने गरि गरेको प्रचण्डले जिकिर गर्नुभयाे । भारतीय दूतावासले यसअघि पनि सिधा ५ करोड खर्च गर्ने गरेको भन्दै अङ्क बढाउने कुराले देशमा कुनै अर्थ नराख्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भारतसँग सम्झाैता भएका विषयकाे प्रतिवेदनहरू समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति छैन । लुकाउनुपर्ने कुनै प्रतिवेदन छैनन् । प्रतिवेदन जस्ताको त्यस्तै लिपिबद्ध चाहियो भन्ने कुरामा कुनै आपत्ति छैन । भारतसँग मात्रै होइन, अन्य देशहरूसँग पनि यस्तै प्रकृतिका सहमतिहरू हुने गरेका छन् । ५ करोड लिँदा राष्ट्रहित विपरीत नहुने, २० करोडसम्म लिँदा हुने भन्ने सिद्धान्त हुन सक्दैन ।’

प्रधानमन्त्री प्रचण्डले भारतसँग २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउने भएको सम्झौता २५ दिनअघि नै मन्त्रिपरिषदबाट निर्णय भइसकेको विषय रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर जलविद्युत् परियोजनाको 'ब्रेक थ्रु' केही दिनमै हुने दाबी पनि गर्नुभयाे । उहाँले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई बलियाे बनाउनुका साथै १० हजार मेगावाट बिजुली भारतले किन्ने सम्झौता लागू भएको बताउनुभयो । पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहितमा रहेको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पार्ने उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया