विद्यार्थीलाई देशभक्तिकाे कुरा पढाए विदेश जाँदैनन् : एमाले सांसद भुसाल

 पुस २६, २०८० बिहिबार १७:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सांसदहरूले विद्यालयको आधारभूत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकाे बैठकमा सांसदहरूले विद्यालयको आधारभूत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा एमालेकी सांसद सरिता भुसालले विद्यार्थीहरूलाई देशभक्तिका कुरा पढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभक्तिको कुरा पढाएमा विद्यार्थीहरू विदेशिनबाट रोकिने जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘अहिले युवाहरू विदेशिने परम्परा चलिराखेको छ । उनीहरूलाई देशप्रतिको माया र भक्ति भावना जगाउने खालका र देशमै सम्भव छ भन्ने खालका कुरा पाठ्यक्रममा राख्यौँ भने विदेशिनबाट रोकिन्छन् । विशेषगरी पाठ्यक्रम बनाउँदै गर्दा हाम्रो संस्कृति, भेषभुषा, स्वदेशप्रतिको माया, संस्कारसहितका शिक्षा राख्नुपर्छ ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले अहिले नैतिक शिक्षा तथा व्यावहारिक शिक्षाको महत्त्व खड्किएको गुनासाे गर्नुभयाे । उहाँले पोषण र स्वस्थ जीवनशैलीका कुरा पनि विद्यालय तहबाट नै पढाउनुपर्ने बताउनु भयो । विद्यार्थीहलाई मौलिक हक, अधिकार, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराकाे पनि ज्ञान दिनुपर्ने उहाँकाे भनाइ छ ।

बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यार्थीहरूलाई प्रविधिको विकास र सुविधाअनुसारको पाठ्यक्रम बनाएर शिक्षा दिनुपर्ने बताउनुभयो । व्यावहारिक ज्ञानमा जाेड दिँदै उहाँले पत्रु खाना (जङ्क फुड) को प्रयोगका कारण स्वास्थ्यमा पर्ने असरबारे विद्यार्थीहरूलाई सानैदेखि सिकाउनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका सांसद डा. कालुराम राईले संविधानले परिभाषित गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश अनुरूपको नैतिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । सांसद राईले स्वस्थ जीवनशैली, ट्राफिक सचेतना लगायतका विषय पनि पाठ्यक्रममा समावेश गरेर शिक्षा दिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया