सन्तान गतिला जन्मिउन् भनेर पोथी चराले गतिलो भाले छान्छ

 माघ १२, २०८० शुक्रबार १६:१०:५१ | डा. हेमसागर बराल
unn.prixa.net

नेपालमा चराको बसाइँसराइकाे क्रम बाह्रैमास चलिरहेको हुन्छ । अहिले उत्तरबाट आउने हिउँदे आगन्तुक चराहरू आएका छन् । यिनीहरू साउन, भदौदेखि आउन शुरु गर्छन् । चैत, वैशाखमा जान्छन् । वैशाखसम्म सबै गइसकेका हुन्छन् । फेरि फागुन, चैतमा गृष्म आगन्तुक चराहरू दक्षिणबाट आउन थाल्छन् । उनीहरू भदौ, असोजतिर बाहिरिन्छन् । कोही आइरहेका हुन्छन् । कोही गइरहेका हुन्छन् । हामीकहाँ उत्तरबाट आउने हिउँदे आगन्तुक र दक्षिणबाट आउने गृष्म आगन्तुक मात्र नभएर नेपालभित्रै पनि लेक र बेसी गर्ने चराहरू छन् । गृष्ममा लेकमा बच्चा कोरल्न जाने र हिउँदमा बेसीतिर झर्ने चराहरू छन् । चराहरूको बसाइँसराइ लामो पनि हुन्छ । छोटो पनि हुन्छ ।

अक्टोबर, नोभेम्बर महिनामा सबैभन्दा धेरै चराहरूको बसाइँसराइ देखिन्छ । यसमा हिउँदे आगन्तुक चराहरू धेरै हुन्छन् । हिउँदे आगन्तुकको प्रजाति पनि धेरै देखिन्छ । झन्डै एक सय ५० प्रजातिका चराहरू त्यस बेला बसाइँ सर्छन् । गृष्म आगन्तुकको प्रजाति ६० को हाराहारीमा छन् । हिउँदे आगन्तुकमा जलपक्षीहरू धेरै छन् । यिनीहरू बथानमा ओहोरदोहोर गर्छन् ।

नेपालमा किन आउँछन् ?

यसका लागि हामीले नेपालको अवस्थिति बुझ्नुपर्छ अर्थात् नेपाल कहाँ अवस्थित छ भनेर बुझ्नुपर्छ । हामीकहाँ अहिले हिउँदे आगन्तुक चराहरू उत्तरबाट आउँछन् । उत्तर भन्नासाथ तिब्बत वा चीनको अरू भागबाट पनि हुनसक्छ । चीनबाट आउने धेरै छन् । साइबेरियाबाट पनि आउँछन् । सेन्ट्रल एसियन रिपब्लिकबाट पनि केही चराहरू नेपाल आउँछन् । ती भागमा अहिले जाडो छ । दिन छोटो छ । जाडोले गर्दा तलाउहरू जमेका छन् । जमिनमा पनि तुसारो हुन्छ, त्यसैले किरा–फट्याङ्ग्रा पाइँदैन । शाकाहारीमै पनि घाँसका सानासाना टुप्पा पनि खान पाउँदैनन् । खानै खान नपाएर उनीहरू दक्षिणतिर आउँदा नेपालको अवस्थिति दक्षिण परेका कारण नेपाल आएका हुन् । तर उनीहरू नेपाल मात्र आएका होइनन् । नेपाल नै छनाेट गरेर आउने भन्ने हुँदैन । भारत पनि जान सक्छन् । श्रीलङ्का पनि जान सक्छन् । त्यो प्रजाति विशेषमा भर पर्छ । जीव विकासको क्रममा उनीहरूको विकास नै यसरी बसाइँसराइ गर्ने भनेर भएको छ ।

बसाइँसराइका लागि नेपाल सजिलो ठाउँ होइन । किनकि उत्तरतिर हिमालय छ । तर हिमालयलाई पनि पार गरेर आउने चराहरू छन् अथवा कुनै घाटी, उपत्यकाहरूलाई प्रयोग गरेर आउने निश्चित ठाउँहरू छन् । जस्तै– कालीगण्डकीको उपत्यका, अरुण उपत्यका तथा साना साना घाटीबाट सानासाना चराहरू आइरहेका छन् । नेपाल बसाइँसराइ गर्ने चराहरूका लागि उपयुक्त ठाउँ भन्न चाहिँ मिल्दैन । तर हिमालय पर्वतको बाधा हुँदाहुँदै पनि चराहरू नेपालमा आएका छन् ।

कतिपय चराहरू हिमालय नै पार गरेर आउँछन् । जस्तो कर्याङकुरुङ सगरमाथाको दक्षिणी ध्रुवमा नै मरेको भेटिएको छ । त्यस्तै सगरमाथाभन्दा माथि नौ हजार तीन सय ७५ मिटरबाट खोया हाँस बसाइँसराइ गर्छ । खोया हाँस मात्रै यस्तो प्रजाति हो जो नियमितरूपमा सगरमाथाभन्दा माथिबाट बसाइँसराइ गर्छ । र विश्वको यस्तो चरा हो जो यत्तिको उचाइ पार गरेर नियमितरूपमा बसाइँसराइ गर्छ ।

चराहरूका राेचक कुरा सुन्नुहाेस्–

बसाइँ सर्ने कुरा कसरी थाहा पाउँछन् ?

उनीहरू बसेको ठाउँमा खाना कम हुँदै जान्छ । अँध्यारो बढ्दै जान्छ अर्थात् दिन छोटो भएपछि रात लामो हुँदै जान्छ । उत्तरी गोलार्द्धमा कतिपय ठाउँमा त एक महिनासम्म घाम नै देखिँदैन । चराहरूले आफू अनुकूलको तापक्रम र खाना नपाएपछि उनीहरूको हर्मोनल क्रियाकलाप अर्थात् शरीरमा नै यसबारे सचेत गराउने केही संयन्त्र हुन्छ । भलै त्यो यही हो भन्ने हामीलाई अहिलेसम्म थाहा छैन । त्यसले गर्दा चराहरू दक्षिणतिर लाग्छन् । अर्थात् जहाँ खान पाइन्छ, जहाँ न्यानो छ त्यता आउँछन् ।

फर्कने क्रम पनि त्यस्तै नै हो । जब यहाँ तापक्रम एकदमै धेरै हुन्छ, उनीहरूको फर्कने क्रम शुरु हुन्छ । यहाँ दिन लामो हुन थाल्छ । उनीहरूका केही अङ्गहरू ठूलो हुने, यौन हर्मोनहरू बढी सक्रिय हुन थाल्छ । त्यस कारण पनि उनीहरू आफ्नो थातथलो फर्किन थाल्छन् । बच्चा कोरल्न जान्छन् ।

बसाइँसराइको तयारी हुन्छ ?

यसमा पनि प्रजाति हेरिकन हुन्छ । बथानमा आउने हाँसका प्रजाति भने बथानमा कुरा गरेर केही सङ्केतबाट बथानमा नै जान्छन् । तर केही प्रजातिका चराहरू भने एक्लाएक्लै पनि हिँडेका हुन्छन् । चराहरूले बसाइँसराइ गर्नु अगाडि अलि बढी नै खाना खाने गर्छन् । धेरै खाएर उनीहरूले शरीरमा बोसो जम्मा गर्ने गर्छन् । खाना सञ्चय गरेजस्तो । हामी 'फ्रिज' मा राख्छौँ । चराहरू भने शरीरमै राख्छन् । उड्दा त्यो बोसो पग्लन्छ र थप ऊर्जा प्रदान गर्छ ।

उनीहरू उड्दै वा आराम गरेर बसाइँसराइ गर्छन् भन्ने कुरा पनि प्रजाति हेरेर नै हुन्छ । साना फिस्टे चराहरू जमिनबाट एउटा, एउटा बुटो गर्दै आउने पनि हुन्छन् । तर खोया हाँस, कर्याङकुरुङ, अरू हाँसका प्रजाति, सुडसुडिया प्रजाति भने नरोकिकन नै बसाइँसराइ गर्छन् । चाँचर, फिस्टो, भद्राइ भने विश्राम गर्दै बसाइँ सर्छन् । यसमा पनि केही प्रजाति दिउँसो उड्छन् भने केही प्रजाति रातदिन उड्छन् । चिल, महाचिलहरू दिउँसो मात्र उड्छन् ।

बसाइँसराइ गर्दा कुनै चरा दुर्घटनामा पर्‍याे भने अरूहरूले छोडेर हिँड्छन् । बथानमा हिँड्नु भनेकै हामी एक्लो छैन भनेर सङ्केत गर्न खोजेको पनि हो । तर बाटोमा ढुकेर बस्ने सिकारी, चिल तथा अरूहरू पनि हुन्छन् । त्यस्तोमा कोही दुर्घटनामा पर्‍याे भने कुर्ने, पर्खने भन्ने हुँदैन । त्यस्तै कुनै दिशा थाहा नपाएर, अलमलिएर हराउने चराहरू पनि हुन्छन् ।

बसाइँको क्रम करोडौँ वर्ष अगाडि नै शुरु भएको हो । यस हिसाबले कहाँ जाने भन्ने उनीहरूलाई गन्तव्य थाहा हुन्छ । तर जलवायु परिवर्तनले चराहरूको गन्तव्य के हो भन्ने उनीहरूको बुझाइमा पनि परिवर्तन भइरहेको देखिन्छ ।

चराहरूको बसाइँसराइको समस्या

चराहरू बसाइँसराइ गर्दा मान्छेहरूले गर्ने सिकार मुख्य समस्या हुन्छ । किनकि मान्छेलाई यो चरा यतिखेर आउँछ भन्ने थाहा हुन्छ । दिशा थाहा नपाउँदा तथा मौसम बिग्रँदा चराहरू तल झर्छन् । आँधी आउँदा जानुपर्ने गन्तव्यमा भन्दा पनि तलपट्टि कहाँ छ बस्ने ठाउँ त्यहाँ झर्छन् । नेपालमा पनि कर्याङकुरुङको बथान जोमसोम विमानस्थल र बाग्लुङको विमानस्थलभरि भएको हामीले देखेका छौँ । बाटोमा चर्दै आउने चराहरूको अहिले बासस्थान छैन । अहिलेको समस्या भनेको बासस्थान र मान्छे नै हो ।

चराहरू बाटोमा यात्रा गर्दा सावधानी पनि अपनाउँछन् । गन्तव्य एक ठाउँमा छ भनेर हिँड्दा खतरा पहिल्यै थाहा पाए यताउता पनि गर्छन् ।

चराको बुद्धि

चराका केही प्रजाति छन् जसले आफ्नो बुद्धि बहुत राम्रो देखाएको छ । याे चाहिँ काग वर्गमा राम्रो देखिन्छ । कागको वर्गमा पर्ने चराहरूले आफ्नो बुद्धि राम्रो देखाएका हुन्छन् । अरू चरा वर्गमा भने त्यस्तो बुद्धि लगाएको देखिँदैन । सञ्चार गर्ने उनीहरूको आफ्नो परिपाटी त हुन्छ तर त्यस्तो बुद्धि लगाएको देखिँदैन । काग अनि मैना चरी भने मानिसले हेर्दा एकदमै बाठो देखिन्छ । कागले त गन्न पनि सक्छ । कागले १० सम्म गन्न सक्छ भनिन्छ ।

हामीले हेर्दा सबै चरा उस्तै देखे पनि उनीहरूले भने आफ्नो छोराछोरी, भालेपोथी सजिलै छुट्याउँछन् । यो चराको एकदमै गजबको गुण हुन्छ । केही यस्ता कुराहरू हामीले गर्न सक्दैनौँ र सोचेको पनि हुँदैनौँ तर त्यो कुरा चराहरूले सजिलै गरिरहेको हुन्छ ।

त्यस्तै हामीले सुन्दा एउटा प्रजातिभित्रको सबै चराको आवाज उस्तै लागे पनि उनीहरूले भने सजिलै फरक छुट्याउन सक्छन् । चराहरूले आवाजको माध्यमबाट नै सञ्चार गर्ने गर्छन् ।

मान्छेले हेर्दा चराहरूमा पनि भावनात्मकता हुन्छ । उनीहरूमा पनि अभिभावकत्व हुन्छ । जस्तै– फुल पार्यो, बच्चा कोरलिरहेको हुन्छ । फूल पारेर गुँडमा बसेको बेला कोही आयो भने ठुङ्ने गर्छ । मेरो हो, मेरो सन्तान यहाँ छ, सन्तानलाई बचाउनुपर्छ भन्ने भावना देखिन्छ । चरामा आफ्नो जोडीमा एउटा मर्दा अर्को वियोगमा परेको देखिन्छ । रुखले पनि कुरा गर्छ, सञ्चार गर्छ भनिरहेको बेलामा चरामा पनि अवश्य पनि भावनात्मक सम्बन्ध हुन्छ र त्यो देख्न पनि सकिन्छ ।

चराको जोडी

चरामा एक पटक बिहे गरेपछि जीवनभर उसैसँग बस्ने पनि हुन्छन् । लाटोकोसेरो, मैना, हाँस, सारस लगायतका चराको आफ्नो जोडी हुन्छ । कतिपय चराको भने आफ्नो जोडी नभएर नयाँ नयाँ बिहे गर्ने पनि हुन्छ । भँगेरा अनि खोलाको भित्तामा बस्ने गौँथलीहरू यस्तो गर्न सक्छन् । सानो फिस्टो चराको पनि खासै जोडी भन्ने हुँदैन । एउटै जोडी बनाउने चरामा पनि भाले वा पोथीको आँखा छल्ने भन्ने धेरै चराको हुन्छ । यसो नगर्दा उनीहरूको वंश नै चल्दैन । प्रकृतिले बनाएको नियम हो यो । चरामा विशेषगरी पोथीले भाले छान्ने प्रवृत्ति देखिन्छ । सन्तान राम्रो होस् भन्ने कुरामा पोथी सचेत भएको देखिन्छ । त्यसैले राम्रो भाले छान्छ ।

चराहरूमा पनि भालेले पोथीको आँखा छल्ने धेरै हुन्छ । जहाँ पनि भालेले यो अधिकार नै हो भने जसरी गर्छन् । तर पोथीले त्यस्तो गरेको भालेले थाहा नपाउने गरी गर्छ । पोथीको पनि यस्तो क्रियाकलाप भइरहेको हुन्छ तर अलि गोप्य हुन्छ । भालेले पनि पोथीका अगाडि पनि जे पनि गर्न सक्ने चराहरूमा पनि देखिन्छ ।

मिलेर काम गर्ने

कतिपय चराहरू आफ्नो सन्तानप्रति भाले र पोथी दुवै उत्तरदायी हुन्छन् र बराबर काम गर्छन् । मिलेर गुँड बनाइरहेका हुन्छन् । ओथारो बस्ने पनि पालैपालो गरेर बस्छन् । बच्चालाई खुवाउने पनि पालैपालो गर्छन् । धेरैजसो चराले मिलेरै काम गर्ने देखिन्छ ।

तर केही चरामा भने भालेले मात्रै काम गर्छ भने केहीमा पोथीले मात्रै काम गर्छ । कालिज प्रजातिको चराहरूमा भालेले कही पनि गर्दैन । फुल पार्ने, बच्चा कोरल्ने, रक्षा गर्ने सबै काम पोथीले गर्नुपर्छ । जसरी घरमा कुखुरीले ओथारो बस्नेदेखि सबै गर्छे त्यही प्रजातिको भएका कारण कालिजले पनि त्यसै गर्छ । तर धेरै चराहरूले भने काम राम्रैसँग बाँडेको हुन्छ । धेरै कम चरामा भाले ओथारो बस्ने गरेको पाइन्छ । नेपालमा पनि दुई/तीन प्रजातिमा त्यस्तो छ । भाले ओथारो बस्ने अनि पोथी डुलेर बस्ने गर्छ ।

आवाज नै सञ्चार

चराको आवाज हामीले आफ्नो सुख, दुःखमा त्योसँग मिलाउने गरेकोले सुख, दुःख व्यक्त गर्छ भनेर भन्छौँ । तर त्यस्तो हुँदैन । हामीले विरहको आवाज भनेर गीत, सङ्गीतमा लेखेका छौँ तर त्यस्तो हुँदैन । उनीहरूको पनि विरह हुन्छ तर जुन आवाज सुनेर हामी विरह भन्छौँ त्यो भने अर्कै उद्देश्यका लागि हुन्छ । विरहका लागि हुँदैन । सूचना आदानप्रदान गर्ने, पोथीले भालेलाई अनि भालेले पोथीलाई आफ्नो ठाउँ बताउन, क्षेत्राधिकारको कुरा गर्न उनीहरूले विभिन्न आवाज निकाल्छन् ।

हामीले कोइलीले विरहको गीत गायो भन्छौँ तर त्यस्तो होइन । किनकि कोइलीलाई हेर्ने हो भने अरू चराको दाँजोमा दुःख नै छैन । कोइलीले फुल पार्नका लागि गुँड पनि बनाउँदैन । उसले आफ्नो सन्तान हुर्काउने जिम्मा नै अरूलाई दिन्छ भने उसलाई त झन् चिन्ता नै छैन ।

सुरक्षाका लागि गुँड

चराहरूले सुरक्षाका लागि गुँड बनाउने गर्छन् । तर तोप चराको गुँडको कुरा गर्दा जीव विकासको क्रम पनि हेर्नुपर्छ । किनकि पहिला एकदमै सामान्य गुँड बनाउँथे र जीव विकासको क्रममा जसले राम्रो गुँड बनाउन थाल्यो ती मात्र रोजाइमा पर्न थालेपछि ती मात्र पास भए कि ! जीव विकासको क्रममा प्राकृतिक छनाेटको सिद्धान्तअनुसार छानेको देखिन्छ । तोप चराको गुँड एकदमै कलात्मक र झुन्डिएकाे मात्रै होइन, कतै कुनै सिकारी आइहाल्यो भने त्यसलाई झुक्याउने विभिन्न कोठाहरू पनि हुन्छन् गुँडभित्र । कुनै कुनै प्रजातिको चरामा त्यस्तो सीपको पनि विकास भएको देखिन्छ ।

चराहरूले प्रत्येक वर्ष नयाँ गुँड बनाउँछन् । तर गिद्ध, चिल, महाचिलले भने केही व्यवधान भएन भने प्रत्येक वर्ष त्यही गुँडमा केही थपेर त्यसलाई मर्मत गर्ने गर्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. हेमसागर बराल

बराल चराविद् हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया