नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ फागुन २३ गते छिचोल्ने तयारी, आउँदो वर्षदेखि गाडी चलाउने तयारी

 माघ १४, २०८० आइतबार १८:२३:० | दामोदर न्याैपाने
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ आउँदो फागुन २३ गते छिचोल्ने तयारी भएको छ । दुई हजार छ सय ८८ मिटरको सुरुङमार्ग फागुनको २३ गते छिचोल्ने तयारी रहेको नागढुङ्गा–सुरुङ मार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको शुक्रवारसम्मको प्रगतिअनुसार मुख्य सुरुङ खन्न अब झन्डै ४५ मिटर बाँकी रहेको उहाँले बताउनुभयो । यो आयोजनाको दुई हजार पाँच सय ५७ मिटरको 'रेस्क्यु' अर्थात् उद्धार सुरुङ गएको साउन २२ गते छिचोलिसकिएको छ । मुख्य सुरुङ छिचोल्ने कार्यक्रममा क–कसलाई सहभागी गराउने भन्ने विषयमा योजना बनाइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । सुरुङ छिचोलिँदा पूजापाठ र हर्षबढाइँ पनि हुनेछ ।

मुख्य सुरुङसँगै रहेको उद्धार सुरुङमा सुरक्षाकर्मीको गाडी, एम्बुलेन्स, वारुण यन्त्र जस्ता गाडी हिँड्न पाउने छन् । मुख्य सुरुङमा दुर्घटना हुँदा उद्धार गर्न यो सुरुङ बनाइएको हो । मुख्य सुरुङ दुई लेन र उद्धार सुरुङ एकल लेनको बनिरहेको छ ।

धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोला अर्थात् नौबिसे नजिकैबाट शुरु भएको सुरुङमार्ग काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको बलम्बुमा निस्किनेछ । मुख्य सुरुङबाट गाडी चलाउन भने झन्डै एक वर्ष लाग्ने आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, बत्ती जोड्ने, टेलिफोन जोड्ने लगायतका काम गर्न बाँकी छ । सुरुङ मार्गलाई त्रिभुवन राजपथसँग जोड्न अर्थात् थानकोटको मूल सडकसँग जोड्न दुई किलोमिटर ८७ मिटरको पहुँचमार्ग पनि बनिरहेको छ । पहुँच मार्गमा फ्लाईओभर, पुल, अन्डरपास, ओभरपास गरी १२ वटा संरचना बनिरहेका छन् ।

यसैबीच मुख्य सुरुङमा दुई पाङ्ग्रे र पेट्रोलियम पदार्थ बोकेका गाडीले अनुमति नपाउने भएका छन् । सुरक्षाका कारण सुरुङमार्गमा दुई पाङ्ग्रे र पेट्रोलियम पदार्थ वा प्रज्वलनशील पदार्थ बोकेका गाडी चल्न नपाउने भएका हुन् । नागढुङ्गा–नौबिसे सुरुङमा गुड्ने गाडीले शुल्क तिर्नुपर्ने भए पनि अहिले निर्धारण नभएको आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

सुरुङमार्ग बनाउन सन् २०१९ को सेप्टेम्बरमा सडक विभाग र जापानी कम्पनी हाजमा आन्दो जेभीसँग सम्झौता भएको थियो । आयोजनाको काम सन् २०२० को नोभेम्बरदेखि शुरु भएको थियो । सम्झौताअनुसार काम हुन नसकेपछि पछिल्लो पटक म्याद यही आउँदो अप्रिल २५ सम्म पुर्‍याइएको छ । तर यो समयसम्म काम सकिने सम्भावना काम छ ।

सुरुङ र पहुँचमार्ग गरी यो आयोजनाका लागत २२ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ । यसमा १६ अर्ब जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण र झन्डै छ अर्ब रुपैयाँ नेपाल सरकारको लगानी छ ।

यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । सुरुङमार्ग बनेपछि नौबिसे–थानकोट सडकको झन्डै आठ किलोमिटर लम्बाइ साढे दुई किलोमिटरमै छोटिनेछ । यस्तै यात्रा अवधि झन्डै ३० मिनेट छोटिनेछ । यस्तै गाडीहरू उकालोमा बिग्रिएर घण्टौँ जाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया