प्रधानमन्त्री–सांसदबीच सवाल जवाफ, विगतका सरकारले आँट नगरेका भ्रष्टाचारका फाइल खोलेकाे प्रचण्डको दाबी

 फागुन ६, २०८० आइतबार १८:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी तथा सत्ता पक्षका सांसदहरूबीच सवाल जवाफ भएको छ । संसदको नियमित तालिकाअनुसार आज प्रधानमन्त्री प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको छ ।

बैठकको शुरुमै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलका सांसदहरूले ललितपुरको बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखिएको उल्लेख गर्दै उहाँलाई तत्कालै बर्खास्त गर्न माग गरे । उनीहरूले सरकारले नै बनाएको छानबिन समितिले दोषी देखाएका मन्त्रीलाई संरक्षण गरेर प्रधानमन्त्रीले कुन सुशासनको कुरा गरेको भनेर प्रश्न सोधेका छन् ।

सांसदहरूलाई जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा छानबिन समितिले दिएको प्रतिवेद अध्यययन गरी दोषीलाई कारबाही गरिने बताउनुभयो । प्रचण्डले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले प्रतिवेदन बुझ्ने बताउनुभएको हो ।

गएकाे पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवा र प्रहरीबीच झडप हुँदा दुई जना युवाको ज्यान गएको थियो । बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले यातायातमन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिबेदन सरकारलाई बुझाएको थियो ।

यस्तै आजकै बैठकमा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रकरणमा बयान लिन बोलाएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र गौतमबुद्धको समाधिस्थलको जग्गा भाडामा दिने निर्णय गरेका पर्यटनमन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेका छन् । नेकपा एमालेका सचेतक महेस बर्तौलाले प्रधानमन्त्रीले सुशासनका नारा जप्दै हिँड्ने तर भ्रष्टाचारको आरोप लागेका मन्त्री राखेर बेइमानी गरेको आरोप लगाउनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले आँट नगरेका भ्रष्टाचारका फाइल खोलेको दाबी गर्नुभयो । ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान यही सरकारले नै थालेको र अदालतले फैसलासमेत गरिसकेको उहाँले बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीविरुद्ध मुद्दा दायर भएको, ६० किलो सुन प्रकरणमा अपराधीहरू पक्राउ परिसकेको लगायतका उदाहरण दिँदै उहाँले आफूले प्रधानमन्त्रीको पद के हुन्छ भन्ने ध्यान नदिई सुशासनको पक्षमा काम गरेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया