विश्व सामाजिक मञ्च : सामाजिक आन्दोलनका विषय समेटेर ६० भन्दा धेरै घोषणापत्र जारी

 फागुन ८, २०८० मंगलबार ७:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनले विभेद, गरिबी, बेरोजगारी, आप्रवासन, असमानता, जलवायु परिवर्तनलगायत समसामयिक विषयमा विश्वको ध्यानाकर्षण गराएको छ ।

काठमाण्डौमा हिजो सकिएको मञ्चको १६ औँ संस्करणले सामाजिक आन्दोलनका विषयहरु समेटेर ६० भन्दा धेरै घोषणापत्र जारी गरेको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ गएको फागुन ३ देखि भृकुटीमण्डपमा सम्मेलन शुरु भएको थियो । ६ वटा महादेशका ९८ देशका एक हजार चार सयभन्दा धेरै सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरू भेला भएर कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नवउदारवादी व्यवस्थाले ल्याएका सकंटहरू–युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तनलगायतका मुद्दामा बहस भएको थियो । विश्व सामाजिक मञ्च सामाजिक अभियन्ताहरूको थलो हो । यो कार्यक्रम सन् २००१ मा ब्राजिलबाट सुरू भएको थियो । 

यसैबीच कार्यक्रममा हिजो भएको बहसमा सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । उनीहरुले गरिबी, जलवायु परिवर्तनका कारण हुने आप्रवासन तथा मौसमी आप्रवासनलाई पनि एउटै मापदण्ड बनाएर व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन माग गरेका छन् ।

सुदूरपश्चिममा सुरक्षित आप्रवासनमा काम गर्दै आएका निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले भारतमा रोजगारीका लागि जानेलाई पनि वैदेशिक रोजगारीको मान्यता दिएर सरकारले उनीहरुको सबै किसिमको अधिकार तथा जोखिमपूर्ण अवस्थामा क्षतिपूर्तिको सुविधा प्रत्याभूति गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया