विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

 फागुन १५, २०८० मंगलबार १८:२:६ | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दीको प्राविधिक शिक्षालयका विद्यार्थीहरू पढाइका साथै आम्दानी पनि गर्न थालेका छन् । मङ्गला गाउँपालिका–२ मा रहेको मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरूले तरकारी, फलफूल, च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माविमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषयमा पढाइ शुरु भएपछि विद्यार्थीहरूले च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई ‘विद्यार्थी च्याउ’ पनि भन्ने गरिएको छ । विद्यालयले प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती शुरु गरेकाे हो ।

प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीहरूले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ रुपैयाँमा बिक्री हुँदै आएको छ । विद्यार्थीहरूलाई कृषि औजारदेखि बिउबिजन उपलब्ध गराउने र उनीहरूले लगाएको च्याउको बजार खोज्न सघाउने गरेको खत्रीले बताउनुभयो । विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको उहाँको भनाइ छ ।

गएको माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीहरूले फागुनको पहिलो हप्तादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान विषयमा अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउ खेती गरेका छन् । गाउँमै बाली विज्ञान पढ्न पाएकामा उनीहरू खुशी छन् ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया