‘टेरामक्स प्रकरणमा बयान सकियो, ७० करोड कमिसन अडियोबारे अनुसन्धान भइरहेकाे छ’

 फागुन १५, २०८० मंगलबार १८:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दूरसञ्चार ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको र केही समयमै आयोगले मुद्दा दायर गर्ने बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले भन्नुभयाे, ‘टेरामक्स खरिदमा भएकाे भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएकाे छ । अब बयानलाई विश्लेषण गरेर, अध्ययन–अनुसन्धान गरेर मुद्दा दायर गर्छाैँ । केही समयमा नतिजा आउँछ ।’ 

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल बाइपासको अनुगमन गर्न खरिद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।

टेरामक्स प्रकरणमा अख्तियारले तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो ।

प्रमुख राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको विषयको अडियो प्रकरणमा पनि अनुसन्धान भइरहेको बताउनुभयो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ सालको फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले राजीनामा दिनुभएको थियो ।

अख्तियार प्रमुख प्रेमकुमार राईले आयोगमा २८ हजार वटा उजुरी रहेको तर मुद्दाको अनुसन्धानमा जनशक्ति अभाव भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया