बानेश्वरसहित केही ठाउँमा नागरिकलाई हिँड्नसमेत रोक, सरकारको सर्वत्र आलोचना

 फागुन १६, २०८० बुधबार ८:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – चार महिनादेखि देशको राजधानी शहर काठमाण्डौका मुख्य केन्द्रलाई निषेधित क्षेत्र तोकेको सरकारले हिजोदेखि नयाँ बानेश्वरसहितका ठाउँमा फुटपाथमा हिँड्नसमेत रोक लगाएको छ । ती क्षेत्रमा पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका छन्।

प्रहरी परिचालन गरेर हिँड्न रोक लगाइएको छ। फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ । सङ्घीय संसद् भवन बाहिरको क्षेत्र, प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा नागरिकलाई हिँड्न नै सास्ती हुने गरी रोक लगाएपछि आलोचना हुँदै आएको छ ।

ती मुख्य ठाउँमा पैदल हिँड्न नदिने गरी डोरी, जाली र कपडाको छेकबार लगाइएको छ । पैदल यात्रुहरु जोखिम मोलेरै कालोपत्रे सडकमा हिँड्न बाध्य छन् । हिजो नयाँ बानेश्वरमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानाले आफूले सुरक्षा निकायबाट सास्ती भोग्नुपरेको गुनासो गर्नुभयो । साथै उहाँले सरकारले गरेको व्यवहार गलत भएको टिप्पणी पनि गर्नुभयो ।

सुरक्षा व्यवस्थामा कमजोरी हुँदा अस्ति सोमवार लघुवित्त र मिटरब्याजपीडित समूह निषेधित क्षेत्र तोडेर संसद् परिसरभित्रै छिरेका थिए । तर सुरक्षा निकायले आवश्यक रणनीति बनाउनुको सट्टा संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बाहिर पैदलयात्रीलाई रोक्ने प्रयास गरेको छ । यसबाट पैदलयात्रु, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकालगायत समस्यामा परेका छन् ।

यसअघि नै माइतीघरदेखि बानेश्वरसम्म, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालतहुँदै माइतीघरको चारैतर्फ र बबरमहलसम्म, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र तोकिएको थियो ।

त्यस्तै राष्ट्रपति कार्यालय शीतल निवास क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार तथा आसपासका क्षेत्रमा पनि निषेधाज्ञा छ । ललितपुरमा मन्त्री निवाससहित वरपरका क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा तोकिएको छ । सरकारले एकपछि अर्को निषेधित क्षेत्र तोकेर नागरिकको आवाज खुम्च्याउन खोजेको भन्दै अधिकारकर्मीहरुले आलोचना गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया