झडपको विषयमा फुुटपाथ व्यवसायी र महानगर प्रहरीबीच आरोप–प्रत्यारोप

 फागुन १८, २०८० शुक्रबार ९:३९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको झडपको विषयमा दुवै पक्षले एक अर्कालाई दोष दिएका छन् । महानगर प्रहरीले दमन गरेको व्यवसायीको आरोप छ भने महानगर प्रहरीले भने प्रतिरक्षा मात्रै गरेको दाबी गरेको छ ।

अस्ति बुधवार बेलुकी भएको झडपमा घाइते भएकाहरु राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि घर फर्किएका छन् । अस्ति बेलुका भएको झडपमा १० जना नगर प्रहरी र ६ जना फुटपाथ व्यवसायी घाइते भएका थिए । घाइतेहरुको केहीको पाखुरा, ढाड र टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेकाले उपचारपछि सबैलाई घर पठाएको ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजालले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले राति ९ बजेपछि फुटपाथ व्यवसाय राख्न दिने निर्णय गरेकोमा व्यवसायीले बेलुका ७ बजे नै फुटपाथमा पसल राख्न थालेको र नगर प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको महानगरले जनाएको छ । तर फुटपाथ व्यवसायीले नगर प्रहरीको टोलीले योजना नै बनाएर फुटपाथ व्यवसायीमाथि भौतिक आक्रमण गरेको आरोप लगाएका छन् ।

अरूबेला सामान जफत गर्न खोज्दा घम्साघम्सी हुने भए पनि अस्ति बेलुका नगर प्रहरी सामान खोस्न नभइ आक्रमण गर्ने उद्देश्यले नै आएको र लाठी र बुटले हानेको व्यवसायीको आरोप छ । तर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने प्रतिरक्षाका लागि लाठी चार्ज गर्नुपरेको तर्क गर्नुभएको छ ।

सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारीक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको र यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको उहाँले बताउनुभयो । तर नगर प्रहरीले फुटपाथ व्यवसायीलाई अमानवीय ढङ्ले कुटपिट गरेको भन्दै आलोचना भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया