जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेयपदार्थ, अनुगमन टाेली पुग्दा व्यवसायीकाे भागाभाग

 फागुन २२, २०८० मंगलबार १८:४७:१ | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङका ग्रामीण बजारका धेरैजसो पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेको छ । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बाग्लुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेका सामग्री फेला पारेको हो ।

अनुगमन टोलीले बाग्लुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो । व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेयपदार्थ जफत गरेर नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेयपदार्थ भेटिएको र स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएको उहाँले जानकारी दिनुभयो । उपभोक्ता र बिक्रेतामा अझै पनि सचेतनाको आवश्यकता देखिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

पटक–पटक भन्दा पनि कम्पनी र डिलर फिर्ता लिन नआउने र बेच्न आउँदा जबरजस्ती धेरै भिडाएर जाँदा बिक्री नभएर म्याद गुज्रिने गरेको नारायणस्थानका स्थानीय व्यवसायी महेन्द्र जिसीले भन्नुभयो ।

केही पसलहरूले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रङ मिसिएका खाद्य वस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बाग्लुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । पहिलो पटकका लागि सचेत गराइएको र दोहोरिए कारबाही गर्ने चेतावनी दिएको उहाँको भनाइ छ ।

हिजो बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि पैँयुपाटा र नारायणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायणस्थानबाट अनुगमन थालिएपछि धेरैजसो खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए । यस पटक पसल बन्द गरी भागे पनि अर्काे पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया