नेपालकाे बिजुली किन्न बङ्गलादेशकाे उच्च प्राथमिकता, ४० मेगावाटका लागि आउँदो महिना सम्झौता हुने

 फागुन २२, २०८० मंगलबार १८:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बङ्गलादेश सरकारले नेपालबाट बिजुली आयातको विषयलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । बङ्गलादेश भ्रमणमा रहेका भारतीय उच्च आयुक्त प्रणय वर्मासँगको भेटमा बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतसँगै नेपालबाट बिजुली आयातलाई पनि विशेष प्राथमिकतामा राखेको बताउनुभएको हो ।

बङ्गलादेशी सञ्चारमाध्यम 'ढाका ट्रिब्युन' का अनुसार राज्यमन्त्री हमिदले भारत र नेपालबाट नाै हजार मेगावाट बिजुली आयातका लागि बङ्गलादेश तयार रहेको बताउनुभएको छ । आफ्नो देशलाई नवीकरणीय ऊर्जाको आवश्यकता निकै बढ्दै गएको अवस्थामा नेपाल र भारतलगायतका छिमेकीबाट स्वच्छ उर्जा आयात गर्नु पहिलो प्राथमिकता हुने पनि उहाँले बताउनुभएको खबरमा उल्लेख छ । उहाँले पछिल्लो समय नेपाल र भुटानबाट जलविद्युत् खरिदको प्रक्रियाले राम्रो प्रगति भइरहेको पनि जानकारी दिनुभयो ।

शुरुवाती चरणमा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने विषयमा आउँदो महिना सम्झौता हुने पनि राज्यमन्त्री हमिदको भनाइ छ । यस्तै भारतीय कम्पनी जीएमआरले नेपालमा बनाउने आयोजनाबाट पाँच सय मेगावाट बिजुली आयात गर्ने विषय पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । यदि नेपालबाट बङ्गलादेशसम्मको डेडिकेटेड प्रसारण लाइन भएमा विद्युत् व्यापारले गति लिने र यसले भारतलाई पनि फाइदा पुग्ने बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले बताउनुभएको छ । उहाँले नेपाल, भारत र बङ्गलादेशले ऊर्जाको क्षेत्रमा ठूलो सहकार्य गर्न सक्ने पनि बताउनुभएको खबरमा उल्लेख छ ।

बङ्गलादेशमा नेपालबाट बिजुली निर्यात गर्ने विषयमा दुई हप्ताअघि नेपाल विद्युत् प्राधिकरणको टोली बङ्गलादेश गएको थियो । तर महसुलको विषयमा कुरा नमिलेपछि टोली अर्को महिना फेरि छलफल गर्ने सहमतिसहित फर्किएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया