पागलपन स्वीकार्न अभिशप्त नागरिक !

 फागुन २८, २०८० सोमबार १७:२:२५ | सम्पादकीय
unn.prixa.net

फागुन लागेपछि माघे सङ्क्रान्तिको शुभकामना भनेर राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीले शुभकामना दिए भने या तिहार सकिएको महिना दिनपछि सरकारले तिहार बिदा दियो भने बिदा दिने सरकारलाई तपाईँ के भन्नुहुन्छ ? स्वाभाविक रूपमा जसले पनि बिदा दिनेको मगज खुस्किएछ भन्ने ठान्छ । धेरै नेपाली नागरिकले सरकार चलाउनेहरूको मगज खुस्केको अन्दाज त पहिले पहिले पनि गरेका थिए, तर आज चाहिँ सरकार आफैँले आफ्नो दिमाग खुस्किएको प्रमाणित गरिदियो । आज सरकारले हुँदै नभएको पर्व भनेर सार्वजनिक बिदा मात्र दिएन; राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि दलका नेताहरूले शुभकामनासमेत दिए । पत्रपत्रिका, रेडियो, टीभी र अनलाइनले ती विज्ञप्ति प्रकाशन र प्रसारण गरे । महिना दिनअघि नै ग्याल्पो ल्होसार मनाएको भन्दै शेर्पा समुदायले आज हाम्रो पर्व होइन भनेपछि नेपाली नागरिक चाहिँ देशमा फैलिँदो पागलपन देखेर चिन्तित भए । केही मानिसलाई मात्र सरकारको दिमाग खुस्केकोमा चिन्ता लागे पनि न सरकारले यसलाई नहुनुपर्ने गल्ती ठानेर माफी मागेको छ, न त सरकार र दलहरूका नेताले दिएको शुभकामना सुनेर कसैलाई ग्लानिबोध नै भएको छ ।

आज ग्याल्पो ल्होसार होइन भन्ने कुरा प्रधानमन्त्री र मन्त्रीहरूलाई पहिल्यै थाहा थियो । प्रधानमन्त्री र मन्त्रीलाई थाहा भएपछि कर्मचारीलाई थाहा नहुने कुरो भएन । तर पात्रो र क्यालेन्डरमा लागिसकेको रातो किन मेट्ने ? त्यसमाथि कर्मचारीलाई जति धेरै बिदा उति नै मज्जा ! सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्थाहरूमा कार्यरत सबै कर्मचारीले बिदा पाए । पात्रोमा आज सोमवार बिदा लेखेको देखेपछि कतिपय स्कुल हिजो आइतवार पनि बन्द भए । किनकि शुक्रवार र शनिवार दुई दिन लगातार बिदा थियो । सोमवारसमेत बिदा हुने भएपछि बीचको एक दिन आइतवार सट्टा बिदा दिँदा लगातार चार दिन बिदामा बस्न पाइने भयो । विद्यार्थी र शिक्षकलाई सजिलो हुने भएकाले धेरै स्कुलहरूले यस्तो बेला सट्टा बिदा दिने गर्छन् । सट्टा बिदा नहुने ठाउँमा पनि सार्वजनिक बिदाको बीचमा बिदा पर्‍याे भने छुट्टी बस्ने चलन छ । यसरी सोमवार हुँदै नभएको पर्वमा सरकारले बिदा दिँदा आइतवार खुल्ने स्कुल र कार्यालयमा समेत असर पर्‍याे ।

सोमवार ग्याल्पो ल्होसार नभए पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र दलका नेता तथा भ्रातृ सङ्गठनले शुभकामना दिए । तर आज ग्याल्पो ल्होसार हो कि होइन भनेर कसैले सोधीखोजी गरेन । शेर्पा समुदायले एक महिनाअघि नै आफूहरूले पर्व मनाएको भनेपछि गृह मन्त्रालयले बिदाको सूचना आफ्नो 'वेबसाइट' बाट हटायो । तर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र जिम्मेवार नेताहरू भने सबै कुरा थाहा पाएर पनि लाज पचेको नकचरोजस्तो मौन बसेका छन् ।

नेपाल शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाका अनुसार यस वर्ष ग्याल्पो ल्होसार सोनाम ल्होसार परेकै दिन अर्थात् माघ २७ गते परेको थियो । भोटचन्द्र पात्रोअनुसार मनाइने भएकाले यो पर्व कहिले माघमा पर्छ, कहिले फागुनमा । शेर्पा समुदायले यसको जानकारी पात्रो बनाउने पञ्चाङ्ग निर्णायक समिति र समितिको पात्रो स्विकृत गर्ने गृह मन्त्रालयलाई पनि गराएका थिए । महिना दिनअघि ग्याल्पो ल्होसार मनाएकै बेलामा पनि उनीहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई भनेका थिए । फागुन २८ गते पात्रो र क्यालेन्डरमा ग्याल्पो ल्होसार भनेर बिदा दिइएको देखेपछि माघ २५ गते विज्ञप्ति नै निकालेर हाम्रो ल्होसार माघ २७ गते नै पर्छ भनेर बिदा सच्याउन ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री र मन्त्रीले सच्याउँछौँ पनि भनेका थिए । तर प्रधानमन्त्रीको प्राथमिकतामा बिदा फेर्ने काम परेन । बिदामा रमाउने कर्मचारीले थाहा पाएर पनि बिदा होइन भनेनन् । अनि हुँदै नभएको पर्वमा सार्वजनिक बिदा भयो । न ल्होसार, न शनिवार । अनि आज के को छुट्टी ? किन छुट्टी ? न पात्रो बनाउने पञ्चाङ्ग निर्णायक समितिका ज्योतिषी र पण्डितहरूले आफ्नो ज्योतिष विद्याको अज्ञानताप्रति पश्चाताप गरे, न व्यर्थको छुट्टी घोषणा गर्ने सरकारले र हुँदै नभएको पर्व भन्दै शुभकामना दिने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरूले माफी मागे । अनि सिङ्गो देश निष्क्रिय पागलपनको सिकार भयो र आमनागरिक सिङ्गो राज्य संरचना र सरकारी संयन्त्रको यस्तो पागलपन स्वीकार्न अभिशप्त भए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया