एकपछि अर्को कमजोरीका कारण जहाज निर्माता अमेरिकी कम्पनी बोइङ समस्यामा पर्दै

 चैत ४, २०८० आइतबार १५:१३:५४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

एकपछि अर्को कमजोरीका कारण जहाज निर्माता अमेरिकी कम्पनी बोइङ समस्यामा पर्दै गइरहेको छ । हरेक दिनजसो बोइङ कम्पनीका लागि खराब समाचार र जानकारी बाहिरिएपछि कम्पनी समस्यामा पर्दै गएको बीबीसीले जनाएको छ ।

पाँच वर्ष पहिले दुई वटा बोइङ ७३७ म्याक्स जहाज उस्तै प्रकृतिको दुर्घटनामा परेर हराएका थिए । उडान नियन्त्रण सफ्टवेयरमा त्रुटिह देखिएको र कम्पनीले जानाजान यसलाई लुकाएको रिपोर्ट सार्वजनिक भएको थियो ।

यस्तै गएको जनवरीमा पोर्टल्यान्डबाट उडेको बोइङ ७३७ जहाजको ढोका नै जहाजबाट छुट्टिएर खसेको थियो । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक रिपोर्टले जहाजका ढोकामा चार वटा बोल्ट जडान नगरेको पत्ता लगाएको थियो । बोइङका जहाजमा बारम्बार अरू पनि प्राविधिक समस्या देखिन थालेका छन् ।

अमेरिकी नियामक निकाय फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) ले बोइङ र यसको आपूर्तिकर्ता स्पिरिट एरोसिस्टममा ७३७ म्याक्स उत्पादन प्रक्रियाको छ हप्ताको लेखापरीक्षणले धेरै कमजोरी देखिएको बताएको खबरमा उल्लेख छ । लगातार समस्यामा पर्दै गएपछि बोइङले अर्डर लिएका छ हजार वटाभन्दा धेरै जहाजको आपूर्ति गर्न सकेको छैन ।

यस्तै फ्रान्सेली कम्पनी एअरबसले पनि आठ हजार वटा जहाजको आपूर्ति बेलैमा गर्न नसक्ने जनाएको छ । यात्रुवाहक ठूला जहाजका लागि बोइङ र एअरबसमा नै संसारभरको उड्डयन क्षेत्र भर परिरहेको छ ।

बोइङ कम्पनीमा समस्या र एअरबसले पनि उत्पादनमा ढिलाइ गरिरहेका कारण भर्खरै चीनमा निर्माण भएका जहाज बिक्रीकाे सम्भावना बढेको छ । चिनियाँ निर्माता कोमाकले सी ९१९ जहाज बनाएर उडान गरिरहेको छ । यो जहाज बोइङको ७३७ म्याक्स र ए ३२० नियोसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको हो । तर कोमाकले सन् २०२८ सम्म जम्मा एक सय ५० वटामात्रै जहाज उत्पादन गर्ने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया