हुम्लाको हिल्दुम गाउँका सबैजसो किसान तरकारी खेतीमा

 चैत ९, २०८० शुक्रबार १५:५५:३० | रासस
unn.prixa.net

रासस

हुम्ला – सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका किसानले तरकारी खेतीबाट आम्दानी गर्न थालेका छन् । झन्डै ५६ वटा घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यता गाउँमै व्यवसायीकरुपमा तरकारी फलाउँदै आएका छन् । शुरुमा गाउँका एक–दुई जना किसानले प्लास्टिकको घर अर्थात् ग्रिनहाउस निर्माण गरी तरकारीखेती गर्दै आएका थिए । तर पछिल्ला वर्ष गाउँका सबैजसो किसान तरकारी खेतीमा लागेका छन् ।

तरकारीबाट राम्रो उत्पादन र आम्दानी हुन थालेको स्थानीय धुनसुब्बा सुनारले बताउनुभयो । हप्तामा तीन–चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उहाँले बताउनुभयो । सदरमुकाम सिमकोटमा एक मुठा साग र धनियाँको ३० रुपैयाँ तथा काउली÷बन्दा किलोको ४० रुपैयाँमा बिक्री गर्दै आएको सकुन्तला शाहीले बताउनुभयो । एक दिनमा दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

केहीले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर तरकारी खेती गरेका छन् । कतिपय किसानलाई कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट सहयोग पनि छ । किसानलाई गुणनेवर इन्टरनेसनलले आवश्यक सहयोग र सहजिकरण गर्दै आएको संस्थाका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताउनुभयो । किसानलाई प्लास्टिक, हजारी, रबरको पाइप, तरकारीको बीउ सहयोग गरेको उहाँको भनाई छ ।

गाउँका सबैले यतिबेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट लैजान ३० मिनेट समय लाग्ने गरेको छ । गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमकोट पुग्ने गर्छन् । युवा पुस्तामा तरकारी खेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका पाको उमेरका महिला तथा पुरुषले उत्पादन गर्दै आएका छन् । गाउँमा सिँचाइ सुविधा छैन । किसानले आकाशे पानीको भरमा तरकारी फलाउनुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया