पर्वतको कुर्घामा एकसय मिटर लामो गुफा भेटियो

 चैत ११, २०८० आइतबार १२:२३:३४ | रासस
unn.prixa.net

फाइल तस्बिर

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् । गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’ नाम राखेका छन् । यहाँभित्र विभिन्न धातुबाट बनेका मूर्ति पनि भेटिएका छन् ।

आजभन्दा २५–३० वर्षअघि नै गुफा भेटिएको भए पनि स्थानीयले खासै चासो दिएका थिएनन् । सामान्य प्वालजस्तो ठानेर स्थानीयबासीले बेवास्ता गरेको भए पनि पछिल्लो समय स्थानीयले खोजी गर्दा विशाल गुफा भेटिएको स्थानीय अगुवा भवानीप्रसाद शर्माले बताउनुभयो । 

गुफा भेटिएसँगै स्थानीय यसको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् । यसको उचित ढङ्गले प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताउनुभयो ।

उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्ने भएकाले पनि यसले जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने स्थानीय मेघराज लम्सालले बताउनुभयो । यो गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके कालीगण्डकी करिडोर हुँदै भारत र चीनको स्वशासित क्षेत्र तिब्बत आवतजावत गर्ने पर्यटकका निम्ति आकर्षक गन्तव्य बन्ने उहाँको भनाइ छ । 

स्थानीयवासीले आगामी नागपञ्चमीमा विशेष पूजाआजा गरी यसको प्रचारप्रसार तथा भौतिक पूर्वाधार निर्माणमा अघि बढ्ने योजना बनाएका छन् । पूर्वाधार निर्माण गर्न समिति बनाएर तीनवटै तहका सरकारसँग योजना माग गरिने लम्सालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया