मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

 चैत १२, २०८० सोमबार १५:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मोरङ – मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको छ । गएको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा ५८ जनाले नेपाली नागरिकता त्यागेका जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको १२ महिनामा १८ जनाले मात्रै नेपाली नागरिकता त्यागेका थिए । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यकासाथ विदेश जाने बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि बढेको हो ।

केही वर्ष अघिसम्म नागरिकता त्याग्नेहरुमा विवाह गरेर भारततर्फ जानेहरु मात्रै रहने गरेकामा पछिल्लो समयमा अरु देशमा जानेहरु बढेका मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले जानकारी दिनुभयो ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपका देश जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले त्याग गर्नेको सङ्ख्या बढेको बताउनुहुन्छ । मोरङमा भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । 

लामो समयदेखि वैदेशिक रोजगारी, डिभी/पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग विवाह गरी उतै बस्ने नेपालीले नागरिकता त्याग गरेको प्रशासनले जनाएको छ । देशभर वार्षिक आठ सयभन्दा बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया