उपचुनाव : सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने

युवा उम्मेदवार र पहिचानवादी मुद्दाका कारण इलाम–२ को प्रतिस्पर्धा रोचक

 चैत १४, २०८० बुधबार १५:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । वैशाख १५ गते इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र १ को (क) क्षेत्रमा चुनाव हुँदैछ ।

सत्ता साझेदार नेकपा एमालेले इलाम–२ मा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङमा जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।

नेकपा एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादीले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शनिवार नाम टुंगो लगाउने बताएको छ ।

कांग्रेस र माओवादीले उम्मेदवार चयन गर्न बाँकी छ । कांग्रेसले इलाम–२ मा यसअघि २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेका सुवास नेम्वाङसँग एक सय १४ मतले पराजित भएका डम्बर खड्कालाई नै उम्मेदवार बनाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

इलाम–२ मा पत्रकार समेत रहेका मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मिलनलाई आफ्नो पार्टीको उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गरिरहेको छ ।

इलाम–२ मा प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका संयोजक डेकेन्द्र सिंह लिम्बुले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँलाई जिताउन धरानका मेयर हर्क साम्पाङले पनि अभियान शुरु गर्नुभएको छ । ३२ वर्षका मिलन र ३५ वर्षका सुहाङको उम्मेदवारी घोषणा र पहिचानवादीको सशक्त अभियानका कारण इलाम–२ को प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया