सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री लामिछाने

 चैत १४, २०८० बुधबार १६:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिनुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताउनुभयो ।

उहाँले सहकारी प्रकरणमा आफूविरुद्ध दिएको जाहेरी दर्तासमेत नभएको जिकिर गर्नुभयो । सुशासन समितिको बैठकमा सांसदले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको विषयमा प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको जिकिर गर्नुभयो ।

सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा माघ २२ गते जाहेरी दिएका थिए । त्यसमा लामिछानेसँगै अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई विपक्षी बनाइएको थियो । दिपेश भने सहकारी ठगी मुद्दामा पक्राउ परिसकेका छन् । सूर्यदर्शन सहकारीपीडितले दिएको उजुरीमा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

यस्तै बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले पनि सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताउनुभयो । उहाँले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीबी राई भएको बताउँदै राईलाई पक्राउ गरे स्वदेश ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

राई मलेसियामा रहेको खुलेको र उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको तर सुर्पुदगी सन्धि नभएकाले राईलाई पठाउन मलेसिया बाध्य नभएकाले समस्या रहेको आईजीपी कुँवरले बताउनुभयो ।

यस्तै बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति नभएको बताउनुभयो । प्रसाईंका सुरक्षागार्ड अर्धस्वचालित हतियारसहित चैत ५ गते सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए । बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहसचिव अर्यालले घटनालाई गम्भीर रूपमा लिएको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया