बैतडी डोजर प्रकरणः थप ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता

 कात्तिक ७, २०७६ बिहिबार २०:२४:५० | जयराज अवस्थी
unn.prixa.net

बैतडी - कच्ची सडक निर्माणका क्रममा बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ को ग्वाल्लेकमा डोजरले महिला हुत्याएको घटनामा थप तीनजना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

घटनामा डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

बिहीबार जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । उनीहरुलाई लागेको आरोप प्रमाणित भएमा कानुन अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

यसअघि डोजर चालक किशोर बोहरालाई अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको थियो ।

ग्वाल्लेकको चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबरजस्ती गर्दा घटना भएको पीडित पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने पहिले उनीहरुले ढुंगामुढा गरेको आरोप लगाएको छ ।

सत्ता र शक्तिको आरोपमा घटना भएको कांग्रेसको आरोप

यस्तै नेपाली कांग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले ग्वाल्लेक घटना सत्ता र शक्तिका आडमा भएकोे निष्कर्ष निकालेको छ । कांग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको दावी गरेको छ । 

घटनामा डोजर मालिक आफैँले दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उहाँलाई सत्ताकै मान्छेहरुले डोजर चलाउन दबाब दिएको बुझिएको छानबिन समितिका संयोजक बहादुरसिंंह थापाले बताउनुभयो ।

डोजर मालिकले आफूले दबाब थेग्न नसकेर डोजर चलाएको भन्ने कुरा गरेकोले यसमा सत्ताका मान्छेहरुको संलग्नता रहेको उहाँले आरोप लगाउनुभयो । यस्तै ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसले आरोप लगाएको छ ।

दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी लिएको कांग्रेसले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया