पत्रकार बन्न लाइसेन्स लिनुपर्ने

 माघ १३, २०७६ सोमबार २०:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । 

सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्ताे प्रावधान राखिएको हो । 

समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमतिसहित पारित गरिएको बताउनुभयो । 

‘सबै पत्रकार र संस्थाको अभिलेखिकरण काउन्सिलमा पनि हुनुपर्ने छ । अभिलेख राख्ने क्रममा अहिले पेशमा रहेकाहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था गरिने छैन् । नयाँ आउन चाहानेहरुका लागि काउन्सिलले पाठ्यक्रमको आधारमा परीक्षा लिएर लाइसेन्सको व्यवस्था गर्ने कुरा पारित भएको छ’, उहाँले भन्नुभयो ।

सभापति गुरुङले दण्ड जरिबानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उलंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको बताउनुभयो ।

त्यसैगरी काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको छ । ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति वा १५ वर्ष अनुभवसहित विशेष योगदान पुर्‍याएको व्यक्ति काउन्सिलको अध्यक्ष हुने व्यवस्था गरिएको छ’, उहाँले भन्नुभयो ।

यस्तै सदस्यका लागि १० वर्षको अनुभव र कम्तिमा स्नातक तह उतिर्ण गरेको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको छ । समितिमा प्रादेशिक प्रतिनिधित्व, विधागत प्रतिनिधित्व पनि सुनिश्चित गर्ने सहमति भएको सभापति गुरुङले बताउनुभयो । 

समितिमा सम्बन्धित क्षेत्रका प्राध्यापक वा सहप्राध्यापकलाई समेट्ने सहमति पनि जुटेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया