नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

 मंसिर २७, २०७७ शनिबार १०:१४:३३ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । 

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आउँदाे मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । 

एसियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आउँदाे मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो । 

समूह 'बी'मा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ रहेका छन् । अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्कसहित चौथो स्थानमा छ ।

नेपालले चाइनिज ताइपेइलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । नेपालले कुबेतसित दुई खेल तथा जोर्डन र अष्ट्रेलियासित एक/एक खेल हारेको थियो । चाइनिज ताइपेइ अङ्कबिहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौँ स्थानमा छ । 

विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ । बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया