आहा ! पर्यटकीय गन्तव्य चाङ्गा (तस्बिरसहित)

 असार २३, २०८० शनिबार १७:२४:८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – यतिबेला जताततै हरियाली छाएको छ । डाँडाकाँडाहरु पनि निकै हरियाली देखिएका छन् । खोलानाला समेत सुसाउन थालेका छन् । ग्रीष्म ऋतुको समय गर्मी हपक्कै बढेको छ । विगतको तुलनामा यसवर्ष गर्मी अत्यधिक महसुस भैरहेको छ । 

वर्षायामको मौसम छिनछिनमा बदलिन्छ । मौसमले एकैछिनमा अनेक रुप फेरिदिन्छ । यो समयमा मौसम छिटोछिटो परिवर्तन भैरहने प्रक्रिया पनि हो । बिहान सफा देखिएको मौसम उतिखेरै बदलिन्छ, सिमसिम पानी पर्छ र छोड्छ । बादल भने डाँडावारि र पारि लुकामारी खेलिरहन्छ । जिस्काइरहन्छ । यही विशेषता नै वर्षायामको मौसमको हो । 

यस्तै–यस्तै विशेषता बोकेर पर्यटकहरुलाई पर्खिएर बसिरहेको छ म्याग्दीको पर्यटकीयस्थल चाङ्गा । पर्यटकीय गन्तव्यको सम्भावना बोकेको चाङ्गा मंगला गाउँपालिका–५, अर्मन म्याग्दीमा पर्दछ । वसन्तु ऋतुसँगै पालुवा पलाएर हरियाली बढ्दै गएपछि अचेल चाङ्गा क्षेत्रलाई खुब जवानी चढेको छ । भिरालो, अग्ला डाँडापाखा र पहाड तथा खोँचमा छरिएर बसेको अर्मन गाउँको सिरानमा पर्यटकीय क्षेत्र चाङ्गा रहेको छ। 

म्याग्दी जिल्लाको भर्जिन पर्यटकीय गन्तव्यको रुपमा चिनिएको चाङ्गा क्षेत्र आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छ । समुद्री सतहदेखि २२ सय मिटरको उचाइमा अवस्थित चाङ्गा क्षेत्र समथर भू–भागमा बसेको छ । वरिपरिबाट हरियाली वनजङ्गल र डाँडाकाँडाले घेरिएको चाङ्गा क्षेत्रको भ्रमण गर्न जाने जो, कोही वा पर्यटकहरु पनि निकै मोहित हुन्छन् । चाङ्गाको समथर भू–भाग पाखोमा स्थानीयले दिनभरजसो भेडा–बाखा, गाईगोरु र भैँसी चराउँछन् । चाङ्गामा मगर समुदाय र विश्वकर्माका २२ घरधुरीको बसोबास रहेको छ ।  

चाङ्गा गाउँमा मकै, सिमी, आलु, फापर, कोदो, गहुँ, जौलगायत खाद्यान्न बालीको उत्पादन हुन्छ । यहाँ घना, वन क्षेत्र पनि रहेको छ । यहाँको वन, जङ्गल क्षेत्रमा सतुवा, तिते, टिम्मुरलगायत जडीबुटी र मृग, वनकुखुरा, चितुवा, भालु, दुम्सी, बाँदर, बँदेल जस्ता जङ्गली जनावहरु पाइन्छन् । मौसम खुलेको समयमा चाङ्गाबाट धौलागिरि र अन्नपूर्ण रेन्जका सबै हिमालहरु छर्लङ्ग देखिने स्थानीय वीरबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

पर्यटकीय क्षेत्रको रुपमा रहेको चाङ्गाको पर्यटन प्रवर्द्धन गर्न मङ्गला गाउँपालिकाले चाङ्गा गाउँसम्म सडक विस्तार गरेको छ । चाङ्गा क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्न स्थानीय उत्पादनको बजारीकरण, भेडीगोठलाई व्यवस्थित बनाउन र स्थानीयलाई होमस्टे तालिम सञ्चालनको पहल थालिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

चाङ्गा आसपासको क्षेत्रबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, बराहशिखर, माछापुच्छ्रे, मानापाथी, गूर्जालगायत मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकनसँगै मालिका गाउँपालिका र बेनी नगरपालिकाको पर्यटकीय क्षेत्रसहित विभिन्न भू–भागहरु समेत देखिन्छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया