इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

 कात्तिक १८, २०८० शनिबार १०:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ ।

फ्लाई दुबईको जहाजमार्फत धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली–३ का राजन फुलाराको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फुलाराको शव हिजो दिउँसो, स्वर्णकारको गएराति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो ।

इजरायलमा गएको असोज २० गते अर्थात् अक्टोबर ७ तारिखमा हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । अहिलेसम्म आठ जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट पठाउने तयारी भैरहेको पनि सहसचिव आरणले बताउनुभयो । अहिलेसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । आक्रमणमा परि ज्यान गुमाएका थप दुई जना डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । आक्रमणमा परि कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् । जोशी हमासको बन्धकमा परेका इजरायल सरकारले पुष्टि गरिसकेको छ ।

जोशी हमास समूह केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया