सरकार फेरबदलमा केही समय शान्त रहेको एमाले फेरि सत्ताको खेलमा फर्किने सङ्केत

 माघ ४, २०८० बिहिबार १८:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार फेरबदलको विषयमा केही समय शान्त रहेको नेकपा एमालेले सत्ताको खेलमा फर्किने सङ्केत गरेको छ । केही समयअघिसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले एमाले सत्ताको खेलमा नलाग्ने र गठबन्धनलाई नचलाउने बताउँदै आउनुभएको थियो । तर आज भने ओलीको बोली फेरिएको छ । उहाँले नेकपा एमाले पनि अब सत्ताको खेलका लागि तयार रहेको सङ्केत दिनुभएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धनले देशलाई बरबादीतर्फ लगिरहेको भन्दै आउँदो चुनाव अर्थात् २०८४ सालसम्म कुर्न नसक्ने बताउनुभएको हो । ओलीले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ८४ मा छौँ । मिसन ८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । हामी मात्रै हाे एक्लै चुनाव लड्ने । तर साना साना अङ्क जोडेर सबै मिलेर सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ । केही गर्ने होइन त्यसले । यस स्थितिमा हामीले मिसन ८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बरबाद भयो भने मिसन ८४ भनेर पर्खिएर हुँदैन । उस्तै पर्‍याे भने यो गठबन्धन भत्काउनुपर्छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाउनुभयो । उहाँले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको र एमालेले नै जोगाउनुपर्ने पनि जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया