बृहत् बीउ उत्पादन कार्यक्रम गर्दै नार्क, खाद्यान्न र तरकारीको आयात घट्ने अपेक्षा

 माघ २३, २०८० मंगलबार १२:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बृहत् बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ । धान/चामलको आयात घटाउन चैते धानको क्षेत्र विस्तार गर्ने तथा अरु धानका जात र बीउको उत्पादन पनि बढाउने सरकारको मुख्य उद्देश्य छ । सरकारको उद्देश्य अनुसार गुणस्तरीय प्रजनन र मूल बीउ उत्पादनको बृहत् परियोजना लागू गरी बीउको माग पूरा गर्ने तयारी थालिएको नार्कले जनाएको छ ।

यस्तैगरी मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना पनि लागू गरी आत्मनिर्भर अभियानमा सघाउ पुर्याउने नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि रुपान्तरणकारी परियोजनाहरु सञ्चालन हुनेछन् ।

नार्कका कार्यकारी निर्देशक भट्टराईका अनुसार आउँदा वर्षहरुमा नार्कको बृहत् बीउ उत्पादन कार्यक्रमबाट खाद्यान्न र तरकारीको आयात घटाउन पनि सहयोग पुग्नेछ । 

बाँझो एवं उपयोग नभएको जग्गालाई सदुपयोग गर्ने परियोजना लागू गर्ने तयारी

कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालको निर्देशन अनुसार नै नार्कले बाँझो एवं उपयोग नभएको जग्गालाई सदुपयोग गर्ने गरी परियोजना लागू गर्ने तयारी गरेकाे छ । यसका लागि पहिला नार्कका फार्म केन्द्रहरुका बाँझो जमिनको उपयोग गर्न थाल्ने र बिस्तारै गाउँघरमा रहेका बाँझा जग्गाको उपयोगको लागि उपयुक्त प्रविधिको विकास र विस्तारलाई ध्यान दिइनेछ ।

तरकारी बालीमध्ये खेती गर्न सजिला तर अहिले आयात हुने गरेका खुर्सानी, लसुन र प्याजमा प्रविधिको उत्पादन र विस्तारका लागि समेत नार्कले योजना बनाएर कार्यान्वयन गर्ने जनाएको छ ।

यस्तै, कागतीमा नेपाललाई आत्मनिर्भर बनाउन नार्कले कागतीमा आत्मनिर्भर परियोजना अन्तर्गत नर्सरी व्यवस्थापन, जातीय विकास, गुणस्तरीय बेर्ना उत्पादन र नर्सरी सम्बन्धी तालिमका कार्यक्रम लागू गर्ने भएको छ । स्याउ, सुन्तला र ओखरको सघन खेती प्रविधि विकास र विस्तारमा पनि काम हुनेछ । धेरै उत्पादन र बिक्री हुने तरकारीहरु गोलभेँडा र काक्रोका वर्णशङ्कर बीउ उत्पादन प्रविधिमार्फत् गुणस्तरीय प्रजनन र मूल बीउको परिमाण बढाउने र माग पूरा गर्नेगरी परियोजना लागू गर्ने नार्कले जनाएको छ ।

पहाडी भेगमा यान्त्रीकरणको बृहत् अनुसन्धान परियोजनामार्फत् पहाडका स–साना गह्राहरुमा उपयुक्त यान्त्रिक प्रविधिको विकास र विस्तारका कार्यक्रम लागू गर्नेछ । बंगुर, स्याउ र अलैँचीको क्षेत्रमा कृषि मन्त्रालय र मातहतका निकायसँगको सहकार्यमा अनुसन्धान र विकासका परियोजना सञ्चालन गर्ने तयारी छ । यस्तै, सहकार्यमा बोयर बाख्रा र पङ्गास माछाको क्षेत्रमा पनि काम हुनेछ ।

जङ्गली जनावरबाट हुने क्षति घटाउने प्रविधि विकास र विस्तार गर्ने 

नार्कले अहिले विद्यमान जङ्गली जनावरबाट हुने बालीवस्तुको क्षति न्यूनीकरण गर्न उपयुक्त  प्रविधिको विकास र विस्तारको लागि पनि काम गर्ने भएको छ । विशेषगरि स्थान विशेषमा रहेका बाँदर, बँदेल, निलगाई, सुगा, काग, जुरेलीलगायतका जनावर र पन्छीबाट हुने क्षति घटाउन उपयुक्त यन्त्र र प्रविधि विकास गर्ने लक्ष्य छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायका अनुसार यस्ता परियोजनाबाट कृषि क्षेत्रमा देखा परेका मुख्य समस्यालाई केही भए पनि समाधान गर्न मद्दत पुग्नेछ । उहाँका अनुसार नार्कले आउँदो आर्थिक वर्षमा किसानसँग वैज्ञानिकको अवधारणा अनुसार किसानलाई प्रविधि सिकाउन आवासीय तालिमको लागि किसान गेष्ट हाउस, दिनरात समय दिनुपर्ने वैज्ञानिक र अनुसन्धानकर्ताहरुको लागि कर्मचारी आवास गृह, डिजिटल सूचना प्रविधियुक्त र सुविधा सम्पन्न तालिम हलको समेत व्यवस्था भएको कृषि प्रविधि सूचना भवनको निर्माण जस्ता पूर्वाधार विकासका योजना समेत बनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया