मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर

 फागुन १८, २०८० शुक्रबार १०:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई आजदेखि २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम रहेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेकाको हकमा ५ सय मलेसियन रिङ्गिट जरिवाना र भिषाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाहरूको हकमा ३ सय मलेसियन रिङ्गिट जरिबाना तिर्नुपर्न हुन्छ । मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको छ ।

दूतावासका अनुसार अवैधानिक रूपमा मलेसिया बस्दै आइ घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन । यसका लागि घर फर्कन चाहने नेपालीले स्वयम् प्रक्रिया अगाडि बढाउनुपर्ने दूतावासले जनाएको छ । घर फर्कनको लागि वैध राहदानी वा यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) को लागि नेपाली दूतावासमा आवेदन दिनुपर्नेछ । निवेदन दिएको १४ दिनभित्रमा नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मलेसियाको अध्यागमन विभागलाई जरिबाना रकम नगदमा तिर्न नमिल्ने भएकाले डेबिट कार्ड वा क्रेडिट कार्डबाट तिर्न सकिन्छ । अथवा ‘टच एन गो ई वालेट’ मार्फत पिन नम्बर लिइ पनि जरिबाना रकम तिर्न सकिन्छ । दूतावासले आवश्यक कागजत र तोकिएको रकम लिइ मलेसियाको अध्यागमन विभागले तोकेकामध्ये आफूलाई पायक पर्ने ठाउँमा गएर आवेदन दर्ता गर्न भनेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया